काठमाडौँ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगातार रिङ्टा लाग्ने र बान्ता हुने समस्यापछि काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मंगलबार राती भर्ना गरि उपचार पछि बुधवार डिस्चार्ज हुनुभएको छ ।
उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार डा. भट्टराईमा बेनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो भएको पुष्टि भएको छ । यो भित्री कानसँग सम्बन्धित समस्या हो, जसका कारण टाउकोको अवस्था परिवर्तन गर्दा अचानक केही सेकेन्डदेखि एक मिनेटसम्म तीव्र रिङ्टा लाग्ने, वाकवाकी तथा बान्ता हुने समस्या देखिन्छ ।
चिकित्सकका अनुसार ओछ्यानमा पल्टिँदा वा उठ्दा, टाउको दायाँ–बायाँ फर्काउँदा, माथि वा तल हेर्दा रिङ्टा लाग्ने, आँखा आफैं चलिरहेको जस्तो अनुभव हुने (निस्टाग्मस), वाकवाकी लाग्ने तथा बान्ता हुनेजस्ता लक्षण यस रोगमा देखिन्छन् । बीपीपीभी भित्री कानमा रहेका साना क्याल्सियम कण (ओटोकोनिया) आफ्नो सामान्य स्थानबाट सरेर अर्धवृत्ताकार नलीमा पुगेपछि हुने समस्या हो । यो रोग प्रायः विशेष शारीरिक अभ्यास तथा आवश्यक औषधिबाट नियन्त्रणमा आउने चिकित्सकहरू बताउँछन् ।
डा.भट्टराईले बुधवार विहान ३ बजेर २१ मिनेटमा पोष्ट गर्नुभएको फेसबुक इष्ट्याटसमा स्वास्थ्यकर्मीहरुसँग अस्पतालमा खिचेको फोटो राखेर यस्तो लेख्नुभएको छ—म उपचार गरेर फर्केको छु । उपचारमा संलग्न र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा हार्दिक आभार ! त्यसैगरि गणेश कुँवरले बुधवार विहान ३ बजेर ५३ मिनेट जाँदा फेसबुक स्ट्याटसमा यस्तो लेख्नुभएकोछ— पूर्व प्रम डा.बाबुराम भट्टराईलाई हिजो बेलुका तीव्र चक्कर र वान्ता भएपछि घर नजिकैको ग्राण्डी अस्पतालमा भर्ना गरेकोमा डाक्टरहरूका अनुसार उहाँलाई बीपीपीभी को लक्षण देखिएकाले उपचार पछि हाल डिस्चार्ज हुनुभएको छ । डा. साबलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
‘बेनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो’ कस्तो रोग हो ?
काठमाडौँ (नेस)
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमा बेनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो (बीपीपीभी) पुष्टि भएपछि यो रोगबारे आम नागरिकको चासो बढेको छ । चिकित्सकहरूका अनुसार बीपीपीभी जीवनलाई प्रत्यक्ष जोखिममा पार्ने रोग होइन, तर समयमै उपचार नगरे दैनिक जीवनमा ठूलो असहजता सिर्जना गर्न सक्छ ।
बीपीपीभी भनेको के हो ?
बीपीपीभी भित्री कानमा हुने सन्तुलन प्रणालीसँग सम्बन्धित रोग हो । हाम्रो भित्री कानमा ओटोकोनिया भनिने अत्यन्त साना क्याल्सियम कार्बोनेटका कण हुन्छन् । कुनै कारणले यी कण आफ्नो स्थानबाट छुट्टिएर अर्धवृत्ताकार नलीमा पुग्दा टाउकोको अवस्थाबारे मस्तिष्कमा गलत सन्देश पुग्छ । त्यसैका कारण अचानक रिङ्गटा लाग्ने समस्या देखिन्छ ।
किन हुन्छ ?
विशेषज्ञहरूका अनुसार बीपीपीभी हुने प्रमुख कारणहरू यस्ता छन्
उमेर बढ्दै जाँदा भित्री कानमा हुने प्राकृतिक परिवर्तन,टाउकोमा चोटपटक लाग्नु,
लामो समय ओछ्यानमा बस्नुपर्ने अवस्था,भित्री कानको संक्रमण वा सुजन, माइग्रेन,
दुर्लभ अवस्थामा कानको शल्यक्रियापछि पनि हुन्छ । तर करिब आधाभन्दा बढी बिरामीमा यसको स्पष्ट कारण पत्ता लाग्दैन ।
मुख्य लक्षण
बीपीपीभीमा प्रायः निम्न लक्षण देखिन्छन् ः
अचानक केही सेकेन्डदेखि एक मिनेटसम्म रिङ्गटा लाग्ने, ओछ्यानमा पल्टिँदा वा कोल्टे फर्किँदा समस्या बढ्ने,तल वा माथि हेर्दा चक्कर लाग्ने,वाकवाकी वा बान्ता हुने,आँखा आफैँ हल्लिएको जस्तो अनुभव हुने,हिँड्दा असन्तुलित महसुस हुने । यसमा बिरामीलाई संसार घुमिरहेको जस्तो अनुभव हुन्छ, तर सामान्यतया चेतना गुम्दैन ।
यो कति गम्भीर रोग हो ?
नाममा “बीनीजिन“ अर्थात् सौम्य शब्द भएकाले यो मस्तिष्कघात, ब्रेन ट्युमर वा पक्षघातजस्तो घातक रोग होइन । तर बारम्बार चक्कर लाग्दा वृद्धवृद्धामा लडेर हड्डी भाँचिने जोखिम बढ्न सक्छ । त्यसैले समयमै उपचार आवश्यक हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा अन्तर्राष्ट्रिय भर्टिगोसम्बन्धी अध्ययनहरूका अनुसार—सबैभन्दा बढी ५० वर्षभन्दा माथिका व्यक्तिमा देखिन्छ । महिलामा पुरुषको तुलनामा केही बढी हुन्छ । जीवनकालमा करिब २–३ प्रतिशत मानिसमा बीपीपीभी हुने अनुमान गरिएको छ । वार्षिक रूपमा प्रति एक लाख जनसंख्यामा करिब ६० देखि ११० जनामा नयाँ बिरामी देखिने विभिन्न अध्ययनले देखाएका छन् । भर्टिगोका कारण अस्पताल पुग्ने बिरामीमध्ये २०–३० प्रतिशत मा बीपीपीभी नै हुने गरेको अनुसन्धानले जनाएको छ ।
विश्वमा सन् २०२४ सम्म विश्वको जनसंख्या ८ अर्बभन्दा बढी पुगेको छ । जीवनकालमा २–३ प्रतिशत मानिसमा बीपीपीभी हुने आधारमा अनुमान गर्दा विश्वभर १६ देखि २४ करोड मानिस कुनै न कुनै समयमा यस समस्याबाट प्रभावित हुन सक्छन् । यद्यपि यो एकै समयमा बिरामी भएका व्यक्तिको संख्या होइन, जीवनकालभर देखिन सक्ने सम्भावित जोखिम हो । नेपालमा बीपीपीभी सम्बन्धराष्ट्रिय तथ्यांक उपलब्ध छैन । तर कान, नाक, घाँटी (ईएनटी), न्युरोलोजी तथा फिजियोथेरापी विभागमा आउने रिङ्गटा लाग्ने बिरामीमध्ये उल्लेखनीय प्रतिशतमा बीपीपीभी पुष्टि हुने चिकित्सकहरूको अनुभव छ । जनसंख्या वृद्धिसँगै नेपालमा पनि यसको संख्या बढ्दै गएको अनुमान गरिएको छ । रोग पहिचानका लागि चिकित्सकले बिरामीको लक्षणका आधारमा डिक्स हेल्पिक परीक्षण वा अन्य शारीरिक परीक्षण गरेर रोगको पहिचान गर्छन् । धेरैजसो अवस्थामा सीटी स्क्यान वा एमआरआई आवश्यक पर्दैन, तर अन्य गम्भीर रोगको शंका भएमा मात्र थप परीक्षण गरिन्छ ।
बीपीपीभीको सबैभन्दा प्रभावकारी उपचार औषधि होइन । विशेषज्ञले विशेष उपकरण मार्फत गर्ने (विशेष गरी (इप्ली म्यानुभर) मार्फत कानभित्र सरेका क्याल्सियम कणलाई पुनः सही स्थानमा फर्काइन्छ । धेरै बिरामीमा एक वा दुई पटकको उपचारमै उल्लेखनीय सुधार देखिन्छ । चक्करका बेला अस्थायी रूपमा वाकवाकी कम गर्ने औषधि प्रयोग गरिए पनि दीर्घकालीन समाधान भने विशेष शारीरिक अभ्यास नै हो ।
बीपीपीभी उपचारयोग्य रोग हो । करिब ८०–९० प्रतिशत बिरामीमा इप्ली म्यानुभर जस्ता उपचारपछि राम्रो सुधार हुन्छ । तर केही व्यक्तिमा केही महिना वा वर्षपछि पुनः समस्या दोहोरिन सक्छ । यस्तो अवस्थामा पुनः उपचार गर्न सकिन्छ ।
हातखुट्टा नचल्ने वा कमजोरी हुने, बोल्न समस्या हुने, अनुहार बांगिने,चेतना गुम्ने
अत्यधिक टाउको दुख्ने,दोहोरो देखिने वा दृष्टि गुम्ने भएमा तुरुन्तै परीक्षण गराउन विश्व स्वास्थ्य संगठन, अमेरिकन एकेडेमी, नेशनल इन्स्टिच्युट अन डिफेन्स एण्ड अन्य जनसम्पर्क डिसअर्डर, अमेरिका, जर्नल अफ न्यूरोलोजी, न्यूरोलोजी टीवाईएफ बीपीपीभी लगायतले आफ्ना जर्नलमा उल्लेख गरेका छन् । यस्तो अवस्थामा समयमै विशेषज्ञ चिकित्सकबाट परीक्षण र उचित उपचार गराए अधिकांश बिरामी पूर्ण रूपमा सामान्य जीवनमा फर्किन सक्ने जनाएका छन् ।











प्रतिक्रिया