एनआईसी एशिया बैंकले सुरु गर्‍यो नेपालपे कार्ड अक्वायरिङ सेवा


काठमाडौं।

एनआईसी एशिया बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त सेवा सुरु गरेको जनाएको छ।

बैंकका अनुसार अब नेपालपे कार्ड प्रयोगकर्ताले एनआईसी एशिया बैंकका एटीएम तथा पीओएस (POS) टर्मिनलमार्फत सहज रूपमा कारोबार गर्न सक्नेछन्। साथै, डिस्कभर नेटवर्कअन्तर्गतका डिस्कभर कार्ड तथा अन्य अन्तर्राष्ट्रिय पार्टनर कार्डहरू पनि बैंकका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न मिल्नेछ।

नेपालपे राष्ट्रिय भुक्तानी स्विच (नेशनल पेमेन्ट स्विच) अन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय कार्ड प्रणाली हो। यो कार्ड नेपालभित्र राष्ट्रिय भुक्तानी स्विचमार्फत तथा विदेशमा डिस्कभर नेटवर्कमार्फत प्रयोग गर्न सकिन्छ।

एनसीएचएलका अनुसार नेपालपे प्रणाली सञ्चालनमा आएपछि बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गरेका नेपालपे कार्ड नेपाल तथा विदेशका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सक्ने व्यवस्था भएको छ। साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड र त्यसका पार्टनर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिनेछन्।

हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे कार्ड प्रणालीमा आबद्ध भइसकेका छन्। तीमध्ये सात बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गरिसकेका छन् भने ११ वटा संस्थाले अक्वायरिङ सेवा सञ्चालन गरिरहेका छन्। आगामी दिनमा यसमा सहभागी हुने संस्थाको संख्या थप बढ्ने अपेक्षा गरिएको छ।

एनआईसी एशिया बैंकले हाल देशभर ३१६ शाखा, १०३ विस्तारित काउन्टर, ३३ शाखारहित बैंकिङ सेवा र ६०४ एटीएममार्फत लाखौं ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ विस्तार र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न प्रविधिमैत्री सेवाहरू सञ्चालन गर्दै आएको छ।