काठमाडौं।
सिल्क ग्रुपले आफ्नो व्यवसायलाई डिजिटल क्षेत्रमा विस्तार गर्दै ‘चाइना बजार’ नामक नयाँ ई–कमर्स प्लेटफर्म सञ्चालनमा ल्याएको छ। कम्पनीले विशेष कार्यक्रमबीच प्लेटफर्मको औपचारिक शुभारम्भ गर्दै निकट भविष्यमै सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने योजना पनि सार्वजनिक गरेको हो।
सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले प्रारम्भिक चरणमा ‘चाइना बजार’ले व्यवसायदेखि–ग्राहक (B2C) मोडलमार्फत सेवा प्रदान गर्ने जानकारी दिए। उनले आगामी चरणमा व्यवसायदेखि–व्यवसाय (B2B) सेवा पनि विस्तार गर्दै देशभरका साना तथा मझौला व्यवसायीलाई प्लेटफर्मसँग जोड्ने लक्ष्य रहेको बताए।
कम्पनीले ई–कमर्स प्लेटफर्मसँगै आफ्नो पहिलो ‘एक्स्पेरियन्स स्टोर’ पनि सञ्चालनमा ल्याएको छ। ललितपुरको ग्वार्खोस्थित टुलिप होटल परिसरमा रहेको उक्त स्टोरमा ग्राहकले विभिन्न सामग्री प्रत्यक्ष हेर्न, परीक्षण गर्न र खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
अध्यक्ष शेर्पाका अनुसार आगामी एक वर्षभित्र वीरगन्ज र भैरहवामा थप दुई वटा एक्स्पेरियन्स स्टोर सञ्चालनमा ल्याइनेछ। त्यसपछि देशका अन्य प्रमुख सहरमा पनि यस्ता स्टोर विस्तार गर्ने योजना रहेको उनले बताए।
शेर्पाले सिल्क ग्रुपलाई पुँजी बजारमा लैजाने तयारी भइरहेको जानकारी दिँदै छिट्टै आईपीओ जारी गर्ने घोषणा पनि गरे। उनका अनुसार कम्पनीले दीर्घकालीन व्यवसाय विस्तार र संस्थागत विकासका लागि सर्वसाधारणलाई समेत स्वामित्वमा सहभागी गराउने रणनीति अघि बढाएको हो।
कम्पनीका अनुसार ‘चाइना बजार’मार्फत नेपाली उपभोक्ताले गुणस्तरीय सामान प्रतिस्पर्धी र पारदर्शी मूल्यमा खरिद गर्न सक्नेछन्। चीनका उत्पादकबाट कम्पनीले प्रत्यक्ष रूपमा सामान खरिद गरी आफ्नै गोदाममा भण्डारण गर्ने र आफ्नै व्यवस्थापनमार्फत ग्राहकसम्म पुर्याउने भएकाले बिचौलियाको लागत घट्ने, डेलिभरी छिटो हुने र मूल्यमा पारदर्शिता कायम रहने दाबी गरिएको छ।
‘Enjoy Your Shopping’ नारासहित सञ्चालनमा आएको प्लेटफर्ममा प्रारम्भिक चरणमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइल, स्वास्थ्य तथा सौन्दर्यसँग सम्बन्धित सामग्री उपलब्ध गराइएको छ। ग्राहकले ईसेवा र खल्तीमार्फत पनि सहज रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
सिल्क ग्रुपले ‘चाइना बजार’लाई दीर्घकालमा देशव्यापी व्यापारिक सञ्जालका रूपमा विकास गर्दै नेपाली उपभोक्ताको किनमेल गर्ने शैलीलाई थप सहज, आधुनिक र डिजिटल बनाउने लक्ष्य राखेको जनाएको छ।











प्रतिक्रिया