काठमाडौं ।
विश्वकप हेर्ने बहानामा क्यानडा पुगेका पाँच जना नेपालीसहित १७५ जना विदेशी नागरिकले त्यहाँको सरकारसमक्ष शरण माग गरेका छन् ।
क्यानडाको अध्यागमन, शरणार्थी तथा नागरिकता विभाग (आईआरसीसी) ले जुलाई २० सम्म उपलब्ध गराएको तथ्यांक अनुसार विश्वकपसँग सम्बन्धित अस्थायी प्रवेश अनुमति (भिजिटर भिसा) पाएका २६ हजार १११ जनामध्ये यी व्यक्तिहरूले शरणका लागि आवेदन दिएका हुन् । महँगो टिकट र यात्रा खर्च बेहोर्न सक्ने आर्थिक हैसियत भएका नागरिकहरूसमेत शरण माग्ने सूचीमा परेपछि भिजिटर भिसाको उद्देश्य दुरुपयोग भएको विषयमा गम्भीर प्रश्न उठेको छ ।
आईआरसीसीका अनुसार शरण माग गर्नेहरूमा घाना र चीनका २५–२५ जना, इजिप्ट, कोलम्बिया र केन्याका १५–१५ जना तथा नाइजेरिया, बंगलादेश र सेनेगलका १०–१० जना रहेका छन् । नेपालसँगै पाकिस्तान, बुरुन्डी र इक्वेडरका ५–५ जनाले पनि शरणका लागि आवेदन दर्ता गराएका छन् । यद्यपि, आवेदन दिने व्यक्तिहरू खेलाडी, खेल पदाधिकारी वा दर्शकमध्ये कुन भूमिकामा क्यानडा पुगेका थिए भन्ने विवरण भने अध्यागमन विभागले खुलाएको छैन ।
यसअघि नै क्यानडा सरकारले विश्वकप अवलोकनका लागि आउने विदेशी नागरिकलाई प्रतियोगिता सकिएपछि भिसाको सर्तअनुसार नियमानुसार आफ्नै देश फर्कन स्पष्ट चेतावनी दिएको थियो । भिसाको दुरुपयोग हुन सक्ने आशंका भएका आवेदकलाई प्रवेश अनुमति नदिने कडा नीति लिइएको भए पनि विकसित मुलुक पुगेपछि शरण माग्ने नेपाली तथा अन्य विदेशी नागरिकको प्रवृत्ति पुनः दोहोरिएको छ । शरणको निवेदन दिँदैमा स्वतः शरणार्थीको मान्यता नपाइने र सम्बन्धित अधिकारीहरूले कानुनी मापदण्डका आधारमा प्रत्येक आवेदनको छुट्टाछुट्टै परीक्षण गरेर मात्र अन्तिम निर्णय गर्ने व्यवस्था रहेको छ ।











प्रतिक्रिया