चार सचिवको सरुवा, बागमती प्रदेशको प्रमुख सचिवमा सहसचिव भट्टराई


काठमाडौं।

सरकारले चार जना सचिवको सरुवा गर्दै बागमती प्रदेश सरकारमा वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक नेतृत्वमा फेरबदल गर्ने निर्णय गरेको हो। मुख्यसचिव गोविन्द कार्कीले उक्त निर्णयको जानकारी दिएका छन्।

निर्णयअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाइएको छ। बस्नेत गत माघ महिनामा मात्रै सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारीमा पुगेकी थिइन् भने करिब ६ महिनामै उनको सरुवा गरिएको हो।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवका रूपमा खटाइएको छ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ। अधिकारी अनिवार्य अवकाशको नजिक पुगेकाले उनलाई अतिरिक्त समूहमा राखिएको जनाइएको छ।

बागमती प्रदेश सरकारको प्रमुख सचिव पद रिक्त भएपछि वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

सरकारले प्रशासनिक संयन्त्रमा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सचिवहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।