कोशी–सुनसरीको तनावको बाछिटा मधेसमा: सिरहा–जनकपुरमा कर्फ्यु, वीरगन्जमा निषेधाज्ञा

तीन जनाको मृत्यु

376
Shares

विराटनगर ।

सुनसरीको कप्तानगन्ज घटनाको विरोधमा मोरङ, सप्तरी, सिरहा, पर्सा र धनुषामा पनि प्रदर्शन गरिएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि सिरहा, जनकपुरमा कर्फ्यु आदेश जारी गरिएको छ भने पर्साको वीरगन्जमा निषेधाज्ञा लगाइएको छ । सिरहाको गोलबजारमा बिहीबार तनाव भएको छ । गोलबजारमा प्रदर्शनक्रममा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनु भयो । त्यहाँ अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा समेत बिहीबार प्रदर्शनपछि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ ।

सिरहाको पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौक, उत्तरतर्फ गोलबजार नगरपालिका–६ को सैनिक चौकदेखि दक्षितर्फ गोलबजार नगरपालिका–४ को राप्र बहुमुखी क्याम्पस वरिपरिको क्षेत्रमा कर्फ्यु जारी गरिएको जनाइएको छ । यस्तै प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कफ्र्यू आदेश जारी गरेको छ। प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिकासबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको बताउनु भएको छ।

जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु लगाइएको हो। बिहानैदेखि जनकपुरधामका विभिन्न चोकमा टायर बालेर प्रर्दशन गरिएको थियो । भिडलाई नियन्त्रण गर्न तथा उपद्रो गर्न नदिन हालसम्म १५ भन्दा बढी राउन्ड अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकै क्रममा एक बालक घाइते भएका छन् । कोसी प्रदेशको राजधानी विराटनगरमा पनि प्रदर्शन भएको छ । मोरङ जिल्ला प्रशासन कार्यालयअगाडि पुगेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले ‘ब्यारिकेड’ लगाएर रोकेका छन् । सुनसरीका १० पालिकामा ललगाइएको निषेधाज्ञा जारी नै छ । पूर्वपश्चिम राजमार्गमा यातायात आंशिक रूपमा चलाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले पर्साका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी गर्नुभएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ःबजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको उहाँले जानकारी दिनु भएको छ । पूर्वमा प्रतिमा चौक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । उक्त क्षेत्रमा पाँचजनाभन्दा बढी मानिसहरू भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने निषेधाज्ञा आदेशमा उल्लेख छ । सुनसरीमा सुरक्षाकर्मीको बाक्लो तैनाथीबीच नेपाली सेनाको हवाई तथा स्थलगस्ती निरन्तर छ । भित्री गाउँहरूमा पनि ड्रोनबाट निगरानी भइरहेको छ ।

घटनास्थल कप्तानगन्ज भने बुधबार (साउन १३)देखि केही शान्त देखिएको बताउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं डीएसपी चन्द्रबहादुर खड्काले भन्नुभयो, “विगत दिनहरूभन्दा बुधबार र बिहीबार कप्तानगन्ज शान्त छ । सुरक्षा निगरानी र गस्तीलाई निरन्तरता दिइएको छ ।’’

देवानगञ्जमा गोली लागेका थप एक जनाको निधन, सुनसरीमा मृतक २ पुगे

सुनसरीको देवानगञ्जमा गोली लागेर घाइते भइ उपचाररत रहेका थप एक जनाको निधन भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत २१ वर्षीय जयप्रकाश मेहताको निधन भएको अस्पतालले पुष्टि गरेको छ । देवानगञ्ज ३ का नरेश मेहताका एक्लो छोरा जयप्रकाश मेहता ८ महिना अघि मात्रै विवाह बन्धनमा बाधिएका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा यसअघि गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको निधन भएको थियो । उनको शव चार दिन बित्दासमेत अस्पतालमै छ। पीडित परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् भने सरकारले माग पुरा गर्ने निर्णय नगर्दा मेहताको शवको पोस्टमार्टमसमेत हुन सकेको छैन। आइतबार रातीको गोलीकाण्डमा घाइते भएका अन्य ७ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचारत रहेका छन् । घाइते सर्वसाधारणको विराटनगरस्थित न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा सघन उपचार भइरहेको छ। तीमध्ये न्युरो अस्पतालमा भेन्टिलेटरमा उपचाररत जयप्रकाश मेहताको निधन भएको छ भने नोबेल अस्पतालमा उपचाररत १८ वर्षीय अमित यादवको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। उनीहरूको पेट र कोखामा गोली लागेको थियो। अन्य सात जनाको अवस्था भने शल्यक्रियापश्चात् सुधारोन्मुख रहेको अस्पतालहरूको भनाइ छ।

मृतकलाई शहीद घोषणा र दोषीलाई कारबाहीसहितका मागसहित देवानगञ्जमा आज स्थानीयले विरोध प्रर्दशन समेत गरेका छन् । यही घटनालाई लिएर आज विराटनगरमा पनि युवाहरुले जिल्ला प्रशासन कार्यालय अघि प्रर्दशन गरेका छन् । देवानगञ्ज घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालय मोरङअगाडि पुगेका प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन् । विश्व हिन्दू परिषद्को अगुवाइमा विभिन्न हिन्दुवादी संघ संगठनका प्रतिनिधिहरू विरोध जुलुसमा सहभागी थिए । मेनरोडको हनुमान मन्दिरअगाडिबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयको गेट अघिसम्म पुगेको थियो । त्यसक्रममा प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्ने विषयमा सरकारको पहल नदेखिएको आरोप लगाएका थिए ।

देवानगञ्ज घटना : मृतकका परिवारलाई जनही दश लाख राहत दिने पालिकाको निर्णय

सुनसरी घटनामा मृत्यु भएकाका परिवारलाई देवानगञ्ज गाउँपालिकाले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आइतबार राति देवानगञ्ज–३, कप्तानगंजमा भएको घटनामा गोली लागेर दुईजनाको मृत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताको अध्यक्षतामा बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागि निधन भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारमा समवेदना व्यक्त गर्दै राहत दिने निर्णय गरेको हो ।

कप्तानगंज, नयाँ हाट बजारमा भएको घटनाको क्रममा निधन भएका व्यक्तिहरूलाई देवानगञ्ज गाउँपालिकाको तर्फबाट सहिद घोषणा गर्दै सोको स्वीकृतिका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय समेत भएको छ । “मृतक परिवारलाई राहत स्वरूप देवानगन गाउँपालिकाबाट १० दश लाख रकम उपलब्ध गराउने साथै घटनाको क्रममा गोली लागि पूर्ण अशक्त र अति अशक्त अपांगता पाएको प्रति व्यक्तिलाई दुई लाख तथा मध्यम र सामान्य अपांगता भएको प्रतिव्यक्तिलाई ५० हजार राहत स्वरूप गाउँपालिकाको चालुतर्फको उद्धार राहत तथा पुनःस्थापना खर्च शीर्षकबाट रकम उपलब्ध गराउने सर्वसम्मत निर्णय भएको छ,“ गाँउपालिका कार्यालयले जनाएको छ । तत्काल देवानगञ्ज गाउँपालिका वडा नं ३ को वडा समितिको बैठक बस्न सक्ने अवस्था नरहेको हुदाँ हाललाई वडा समितिका ज्येष्ठ सदस्य रामबहादुर महतोलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको छ । पालिकाले निजी सम्पत्तिमा भएको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्ने, आकस्मिक स्वास्थ्य सेवाबाहेकका सेवा हाललाई बन्द गर्ने र घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाल सरकार समक्ष माग गर्ने निर्णय भएको जनाइएको छ ।

यसअघि कोसी प्रदेश सरकारले भने मृतकका परिवारलाई दुई लाख र घर तथा व्यवसायमा क्षति पुगेका अनि घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ । मागबारे बुधबार कप्तानगन्ज पुगेको गृह मन्त्रालयको छानबिन समितिलाई पनि जानकारी गराइएको देवानगञ्ज–४ का वडाध्यक्ष सुशीलकुमार मेहताले बताएका छन् । देवानगञ्जमा भएको सर्वपक्षीय बैठकमा मृतकलाई सहिद घोषणा गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार, स्थानीय मदरसाको उचित व्यवस्थापन र दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिएको थियो । गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठन गरेको समितिले बुधबार नै मृतकका परिवारसँग भेटघाट गरी घटनाबारे सोधेको थियो । घाइतेमध्ये एकजनाको अवस्था अझै गम्भीर छ । बाँकी सातजनाको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

सहसचिव भूपेन्द्र थापा संयोजकत्वको समितिले बुधबार नै मृतकका परिवार, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवासँग भेटघाट गरी घटनाबारे जानकारी लिएको छ । टोलीले गोली चलेको बजार क्षेत्रको झाडीलाई घेरेर त्यहाँ उपलब्ध प्रमाण संकलन गरेको छ । छानबिन समितिले गोलीका खोकालगायत वस्तु संकलन गरेर लगेको स्थानीयले बताएका छन् । समितिसँगको छलफलका क्रममा पालिकाका प्रमुख तथा जनप्रतिनिधिले घटनाको सूक्ष्म अनुसन्धान गरी विवाद समाधान गरिनुपर्ने, पीडितलाई न्याय र दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।