सुनसरी।
सुनसरीको कप्तानगञ्जमा आइतबार राति भएको प्रहरी गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार चिकित्सकले दिउँसो १ः२४ बजे उनलाई मृत घोषणा गरेका हुन्।
घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आइतबार राति भएको उक्त घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया