सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा कर्फ्यु जारी, प्रहरीद्वारा १० राउन्ड ग्यान गन फायर


सिरहा।

सिरहाको गोलबजार नगरपालिकामा बिहीबार दिउँसो भएको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

दिउँसो १२:४५ बजेतिर गोलबजार नगरपालिका–६ स्थित गोलचोकमा रहेको एबी मल तथा गोलबजार नगरपालिका–४ स्थित मुस्लिम समुदायको मस्जिद क्षेत्रमा करिब ५०० जनाको संख्यामा भेला भएका हिन्दु पक्षका प्रदर्शनकारीहरूले ढुंगामुढा तथा तोडफोड गर्न थालेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरीको टोली पुगेर प्रदर्शनकारीलाई सम्झाइ–बुझाइ गरी स्थिति नियन्त्रणमा लिन प्रयास गरेको थियो। तर, प्रदर्शनकारी थप उत्तेजित भई ढुंगामुढा र तोडफोड जारी राखेपछि अवस्था नियन्त्रणका लागि नेपाल प्रहरीतर्फबाट ३ राउन्ड तथा सशस्त्र प्रहरी बलतर्फबाट ७ राउन्ड ग्यान गन फायर गरिएको जनाइएको छ।

घटनापछि सुरक्षा व्यवस्था थप कडा बनाउन जिल्ला प्रहरी कार्यालय सिरहाबाट अतिरिक्त प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।

यसैबीच, घटनाको संवेदनशीलतालाई दृष्टिगत गर्दै जिल्ला सुरक्षा समिति सिरहाको निर्णयअनुसार आज साउन १४ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको छ।

कर्फ्यु लागू गरिएको क्षेत्र पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चौहर्वा चोकसम्म, उत्तरतर्फ गोलबजार नगरपालिका–६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार नगरपालिका–४ स्थित रा.प्र.रा.प्र. बहुमुखी क्याम्पस वरपरको क्षेत्रसम्म रहेको प्रशासनले जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।