सुनसरीको देवानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ: कांग्रेस


काठमाडौँ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शुरुमै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र यसको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गरेकी हुन् । उनले यस घटनापछि प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै कडा आलोचना समेत गरिन्।

प्रमुख सचेतक थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न समेत गरिन् । उनले कसैको उक्साहट, अफवाह, घृणाको राजनीतिले सामाजिक सद्भाव भत्काउन नसक्ने र सम्पूर्ण नेपालीलाई सहिष्णुता तथा शान्तिको पक्षमा एकजुट हुन समेत आह्वान गरिन् ।