१७ वर्षको जागिरमा २ करोड २६ लाख स्रोत नखुलेको सम्पत्ति

0
Shares

–वैधानिक आम्दानीभन्दा करोडौँ रुपैयाँ बढी खर्च र लगानी
–चौधरीसँगै श्रीमती अर्पना कुमारीलाई पनि प्रतिवादी बनाइयो

काठमाडौँ ।

सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीले अनियमितता गरी २ करोड २६ लाख १३ हजार १ सय २३ रुपैयाँ आम्दानी गरेको पाइएको छ ।

इन्जिनियर चौधरीले सरकारी जागिरको १७ वर्षको अवधिमा विभिन्न जिम्मेवारीमा रहँदा पदको दुरुपयोग गरी सो सम्पति जोडेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीको सम्पूर्ण आय–व्यय विश्लेषण गर्दा उक्त रकमको वैधानिक स्रोत नखुलेको निष्कर्ष निकालेको जनाएको छ ।

चौधरी २०६५ साल पुस ११ गते निजामती सेवामा प्रवेश गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरी जागिर प्रवेश गरेको दिनदेखि २०८२ असार २९ गतेसम्मको अवधिमा कमाएका सम्पत्तिको छानबिनको क्रममा गैरकानुनी आम्दानी गरी करोडौं रुपैयाँ कमाएको पाइएको हो । चौधरीले पदीय मर्यादाविपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्नेसमेत बेहोराको उजुरी अख्तियारमा परेको थियो ।

उजुरी परेपछि त्यसको छानबिन गर्दा सो अवधिमा चौधरीको कुल आय २ करोड ७२ लाख ५५ हजार ७ सय ६६ रुपैयाँ छ पैसा रहेको छ । त्यसमा पारिश्रमिक÷तलब बचतबापतको रकम, जग्गा बिक्रीबाट प्राप्त आय, निजको श्रीमतीको पारिश्रमिक बचतबापतको रकम, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जाबापतको रकम, घरबहालबाट कर कट्टीपश्चात प्राप्त आय, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको खातामा भएको मौज्दातमा कर कट्टीपश्चात प्राप्त व्याज आय रहेका छन् । त्यसैगरी जग्गा बैनाबापत प्राप्त रकम, कर्मचारी सञ्चय कोषबाट ऋण लिएको रकम, व्यक्तिगत सापटी लिएको रकम, कृषि आय, बुबाको पेन्सन आयसमेत गरी निज तथा निजका एकाघर परिवारका सदस्यहरूको आय रहेका छन् ।
त्यसैगरी चौधरीको व्यय ४ करोड ९८ लाख ६८ हजार ८ सय ८९ रुपैयाँ र ४२ पैसा मात्र रहेको छ । व्ययमा जग्गा खरिद, घर खरिद, सवारीसाधन खरिद रकम, निज तथा निजको परिवारसमेतको जीवन बिमा गरेबापत कम्पनीहरूलाई बिमा शुल्क भुक्तानी, निजको छोराछोरीहरूको अध्ययन खर्च, बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जाको साँवा तथा व्याज भुक्तानीबापतको रकम रहेका छन् ।

त्यसैगरी कम्पनीमा लगानी गरेको रकम, विभिन्न व्यक्तिहरूलाई बैंकिङ माध्यमबाट भुक्तानी गरेको रकम, कर्मचारी सञ्चय कोषको ऋण तिरेको रकम, विद्युतीय उपकरण खरिद, शेयर खरिद, फर्निचर खरिद, घर बैनाबापत दिएको रकम, स्वआर्जित घर निर्माण रकम, टेक्टर खरिद रकम, सुन खरिद र आफ्नो तथा एकाघर परिवारका सदस्यहरूको नाममा रहेको बैंक खातामा भएको मौज्दात खर्च रहेका छन् ।
खर्च तथा लगानीबाट वैधानिक आय घटाउँदा २ करोड २६ लाख १३ हजार १ सय २३ रुपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको प्रवक्ता सुरेश न्यौपाले बताउनुभयो ।

चौधरीले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसुर गरेको पुष्टि भएको पनि आयोगले जनाएको छ । चौधरीको स्रोत नखुलेको २ करोड २६ लाख १३ हजार १ सय २३ रुपैयाँ बराबर सम्पत्ति बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता न्यौपानले बताउनुभयो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबी लिइएको छ ।

सो रकम चौधरीले पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएकाले निजले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति परिवारको नाममा समेत रहेको देखिएको अख्तियारको अभियोगपत्रमा उल्लेख गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ‘ख’ बमोजिम गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत हुन एवं निजले वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइछिपाइ झुट्टा विवरण पेस गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी लुकाइछिपाइ राखिएको सम्पत्ति जफत हुनसमेत मागदाबी लिइएको छ । त्यसैगरी अख्तियारले मुद्दा दायर गर्दा चौधरीका श्रीमती अर्पनाकुमारीलाई पनि प्रतिवादी बनाइएको छ ।

स्रोत नखुल्ने सम्पत्तिबाट चौधरीको श्रीमती अर्पना कुमारीको नाममा खरिद गरिएका तथा कायम रहेका सम्पत्तिहरू जफत गर्ने प्रयोजनार्थ मात्र अर्पना कुमारीलाई प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), ऐ. ऐनको दफा ४७, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ‘ख’समेतका प्रचलित कानुनबमोजिम श्रीमतीलाई प्रतिवादी बनाइएको थियो ।

१ अर्ब ९० करोडको हुण्डी कारोबारी रिजाल पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सीआईबीले लामो समयदेखि बैंकिङ कारोबारको विश्लेषण तथा निगरानी गरेपछि नागार्जुनबाट राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार धादिङको तत्कालीन सत्यदेवी–८ घर भई हाल नागार्जुन नगरपालिका–८, राधाकृष्ण मन्दिर क्षेत्रमा बसोबास गर्दै आएका रिजालले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सीआईबीले पक्राउ परेका रिजालको बैंक खातामार्फत कारोबार गर्ने अन्य व्यक्ति, रकम पठाउने र प्राप्त गर्ने समूह, विदेशस्थित सम्पर्क बिन्दु तथा सम्भावित संगठित सञ्जालबारे अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरीले आवश्यक प्रमाण संकलनसँगै अन्य संलग्न व्यक्तिहरूको खोजी तथा थप पक्राउको प्रक्रिया पनि अगाडि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार केही व्यक्तिहरूले संगठित रूपमा हुण्डी कारोबार गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि सीआईबीले उनीहरूको बैंकिङ कारोबार, रकमको स्रोत, स्थानान्तरणको शैली तथा कारोबारको प्रकृतिमाथि विस्तृत विश्लेषण गरेको थियो । अनुसन्धानका क्रममा रिजालको व्यक्तिगत बैंक खाता ठूलो परिमाणको अवैध रकम ओसारपसारका लागि प्रयोग भएको देखिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउपछि उनको संलग्नतामा रहेका अन्य व्यक्ति, रकमको वास्तविक स्रोत, विदेशसँगको आर्थिक सम्बन्ध तथा सम्भावित संगठित सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।