काठमाडौं ।
धनुषाको जनकपुर उपमहानगरपालिकास्थित सहरी क्षेत्रमा दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको जानकारी दिएका छन्।
उनका अनुसार जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले सुरक्षा अवस्थाको समीक्षा गर्दै सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु जारी गर्ने निर्णय गरेको हो।
तनाव बढेसँगै जनकपुरका विभिन्न क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायको उपस्थिति उल्लेख्य रूपमा बढाइएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।
प्रशासनका अनुसार घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ। शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय परिचालन गरिएको र अवस्था नियन्त्रणमा लिन आवश्यक सबै उपाय अपनाइएको जनाएको छ।
यसअघि दुई समुदायबीच भएको विवादले केही स्थानमा तनाव सिर्जना भएपछि जिल्ला सुरक्षा समितिले तत्काल बैठक बोलाएर कर्फ्यु लगाउने निर्णय गरेको हो। घटनाबारे थप विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई सामाजिक सञ्जालमा अपुष्ट सूचना वा उत्तेजक सामग्री साझा नगर्न तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अपिल गरेको छ। साथै, कर्फ्यु अवधिमा सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ।











प्रतिक्रिया