काठमाडौं ।
लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा फरार रहेका सप्तरीका कृष्णा यादवलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पुनः पक्राउ गरेको छ। ब्युरोका अनुसार उनी भारतमा लुकेर बसेर सीमापारबाट काठमाडौंसम्म खैरो हेरोइन आपूर्ति गर्ने मुख्य योजनाकार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ब्युरोका अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ निवासी ३४ वर्षीय कृष्णा यादवले लागुऔषध कारोबारलाई व्यवस्थित बनाउन दोस्रो विवाह गरेका थिए। उनले दोस्रो श्रीमती सबिना अधिकारीलाई लोकसेवा आयोगको तयारी गराउने बहानामा काठमाडौंमा डेरा खोजी, कोठा भाडामा लिने तथा लोकसेवा तयारी कक्षामा समेत भर्ना गरिदिएका थिए।
अनुसन्धानका क्रममा यादवले श्रीमतीलाई काठमाडौं पठाएर लागुऔषध रिसिभ गर्ने, डेरामा भण्डारण गर्ने र विभिन्न व्यक्तिमार्फत बिक्री–वितरण गराउने गरेको खुलेको ब्युरोले जनाएको छ।
यसै क्रममा २०८२ असार १२ गते सबिना अधिकारीलाई काठमाडौंबाट १११ ग्राम २४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो। त्यसपछि गरिएको अनुसन्धानका आधारमा कृष्णा यादवलाई २०८२ असार १४ गते सप्तरीबाट पक्राउ गरिएको थियो।
तर, उनी जेन्जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका थिए। फरार भएपछि भारततर्फ लुकेर बसेका यादवले त्यहीँबाट पुनः लागुऔषध कारोबार सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार उनले भारतबाट आलु–प्याजको बोराभित्र लुकाएर काठमाडौंसम्म खैरो हेरोइन पठाउने गरेको पाइएको छ। २०८३ असार २७ गते सप्तरीबाट पठाइएको ३०० ग्राम खैरो हेरोइनसहित मनिष श्रेष्ठसहित तीन जना पक्राउ परेका थिए। त्यस घटनाको अनुसन्धानका क्रममा बरामद भएको हेरोइन कृष्णा यादवले नै पठाएको पुष्टि भएको ब्युरोले जनाएको छ।
फरार अभियुक्त यादवलाई खोजी गर्ने क्रममा ब्युरोबाट खटिएको प्रहरी टोलीले २०८३ साउन १० गते सप्तरीको राजगढ गाउँपालिका–२ बाट पुनः पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पक्राउ परेकी उनकी श्रीमती सबिना अधिकारी पनि पछि जेन्जी आन्दोलनका क्रममा फरार भएकी थिइन्। उनलाई २०८२ फागुन २७ गते लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय थानकोटले ८८ ग्राम खैरो हेरोइनसहित पुनः पक्राउ गरेको थियो। अनुसन्धान पूरा भएपछि अदालतको आदेशअनुसार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा पठाइएको थियो।
प्रहरीका अनुसार कृष्णा यादवविरुद्ध हालसम्म ब्युरोमा दुईवटा मुख्य लागुऔषध मुद्दा दर्ता छन्। पहिलो मुद्दा १११ ग्राम २४० मिलिग्राम खैरो हेरोइन बरामदसँग सम्बन्धित छ भने दोस्रो मुद्दा ३०० ग्राम खैरो हेरोइन तस्करीसँग सम्बन्धित रहेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले सीमापारबाट हुने हेरोइन तस्करीमा संलग्न सञ्जालमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानसमेत जारी रहेको प्रहरीले जानकारी दिएको छ।











प्रतिक्रिया