काठमाडौं।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई अनुभवी राजनीतिक नेतृत्व, बुद्धिजीवी र विज्ञहरूको अनुभवबाट सिक्दै सहकार्यको वातावरण बनाउन आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकका जटिल समस्या समाधान गर्न विगतका अनुभव र नेतृत्वको ज्ञान उपयोगी हुने बताए। लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लामो समयदेखि संघर्ष गरेका व्यक्तिहरूको अनुभव राष्ट्रको सम्पत्ति भएकाले त्यसको सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै प्रचण्डले आफू मात्र पर्याप्त छु भन्ने सोचले काम गरे त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे। उनले आवश्यक परे आफूलाई समेत बोलाएर विगतका अनुभव र चुनौतीबारे छलफल गर्न सकिने उल्लेख गर्दै अनुभवबाट सिक्न हिच्किचाउनु नहुने धारणा राखे।
उनले नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत अन्य राजनीतिक दलहरूले शासन सञ्चालन र राजनीतिक संघर्षका क्रममा हासिल गरेका अनुभवहरू पनि वर्तमान सरकारका लागि उपयोगी हुन सक्ने बताए।
प्रचण्डले सरकार संवादबाट टाढा जाने, प्रतिपक्षलाई अवमूल्यन गर्ने वा समाजका कुनै वर्ग, समुदाय तथा तहको बेवास्ता गर्ने प्रवृत्ति अन्ततः मुलुककै हितविपरीत हुने चेतावनी दिए। सरकार जति उदार, समावेशी र सहकार्यको भावनासहित अघि बढ्छ, त्यति नै देश र जनताको हित हुने उनको भनाइ थियो।
उनले जनताको सबै वर्ग, क्षेत्र र समुदायलाई विश्वासमा लिएर शासन सञ्चालन गर्न सुझाव दिँदै लोकतान्त्रिक मूल्य, सहकार्य र आपसी सम्मानलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे।











प्रतिक्रिया