काठमाडौं।
झारफुक तथा हेराइ–मनाइको नाममा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ‘पाथीभरा माता’ नामले सामाजिक सञ्जालमा परिचित समीर थापालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने थापा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक निवासी करिब २४ वर्षीय हुन्। उनी सामाजिक सञ्जालमा ‘पाथीभरा माता’ नामबाट चिनिन्छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार थापालाई बुधबार बेलुका करिब ८ बजे नियन्त्रणमा लिइएको हो।
सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा थापाले धर्मको नाममा झारफुक गर्ने भन्दै एक महिलामाथि कुटपिट गरेको तथा अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको देखिएको प्रहरीले जनाएको छ। भिडियोमा ती महिला असहज अवस्थामा देखिएकी छन्।
यस्तै, अर्को भिडियोमा थापाले अर्की महिलालाई भिडियो खिच्न लगाएको र आफ्नै खुट्टाको पैतला चाट्न बाध्य पारेको दृश्यसमेत सार्वजनिक भएको छ। ती भिडियो र तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।
घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक दिपक मगराठीको नेतृत्वमा ९ सदस्यीय टोली परिचालन गरी थापालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानको निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।











प्रतिक्रिया