काठमाडौं ।
ब्राजिलकी यूएफसी स्ट्रवेट फाइटर पोलियाना भियानाको सात वर्षअघिको साहसिक घटना फेरि सामाजिक सञ्जालमा भाइरल बनेको छ। यूएफसीमा आइरन लेडी उपनामले चिनिने भियानाले सन् २०१९ मा आफूलाई लुट्न आएका युवकलाई एक्लैले नियन्त्रणमा लिएको भिडियो र तस्बिरहरू पुनः चर्चामा आएका हुन्।
घटना ब्राजिलको रियो दि जेनेरियोमा भएको थियो। उबरको प्रतीक्षा गरिरहेकी भियानासामु एक युवक आएर मोबाइल फोन माग्दै आफू हतियारसहित रहेको भन्दै धम्क्याएका थिए। तर भियानाले उसले देखाएको बन्दुकजस्तो वस्तु वास्तविक नभई निकै नरम देखिएको महसुस गरिन्। त्यसपछि उनले तत्काल प्रतिकार गर्ने निर्णय लिइन्।
प्रशिक्षित मिश्रित मार्सल आर्ट (एमएमए) खेलाडी भियानाले युवकमाथि दुई मुक्का र एक लात प्रहार गरिन्। युवक भुइँमा लडेपछि उनले रियर नेकेड चोक प्रविधिबाट नियन्त्रणमा लिई प्रहरी नआउञ्जेल त्यहीँ बस्न बाध्य बनाइन्। घटनास्थलमा रहेका मानिसहरूले प्रहरीलाई खबर गरेका थिए।
पछि प्रहरीले अनुसन्धान गर्दा युवकसँग वास्तविक बन्दुक नभई बन्दुकजस्तो देखिने कार्डबोर्डको नक्कली वस्तु रहेको खुलेको थियो। भियानाले आफूले जोखिमको आँकलन गरेर मात्र प्रतिकार गरेको बताएकी थिइन्। उनले वास्तविक बन्दुक भएको भए परिस्थिति फरक हुन सक्ने पनि उल्लेख गरेकी थिइन्।
घटनापछि यूएफसी अध्यक्ष डाना ह्वाइटले पनि भियानाको प्रशंसा गर्दै उनको तस्बिर र घाइते लुटेराको तस्बिर सँगै राखेर सामाजिक सञ्जालमा साझा गरेका थिए। अहिले फेरि यो घटना भाइरल बनेपछि धेरै प्रयोगकर्ताले उनलाई वास्तविक आइरन लेडी भन्दै प्रशंसा गरिरहेका छन्।











प्रतिक्रिया