विश्वभर अरबौँ समर्थकलाई एउटै भावनामा बाँध्ने खेल हो फुटबल । हरेक चार वर्षमा आयोजना हुने फिफा विश्वकपको रौनकले सिङ्गो महादेशहरूलाई नै तरंगित बनाउँछ । तर, विश्वका हरेक कुनामा फुटबलको यो आधिकारिक उपस्थिति भने हुन सकेको छैन । संयुक्त राष्ट्रसंघबाट पूर्ण मान्यता प्राप्त केही यस्ता सम्प्रभु राष्ट्रहरू पनि छन्, जसको आजसम्म कुनै फिफा–आबद्ध राष्ट्रिय फुटबल टोली छैन । कतै सानो भूगोल, कतै पूर्वाधारको चरम अभाव, कतै भौगोलिक विकटता त कतै भिन्न खेलप्रतिको मोहका कारण यी देशहरू विश्व फुटबलको सर्वोच्च निकायभन्दा बाहिरै रहन बाध्य छन् । संसारभर फुटबललाई धर्म मान्नेहरूका लागि यी देशहरूको स्थिति अनौठो लाग्न सक्छ । तर, भौगोलिक सीमितता र भिन्न प्राथमिकताका बाबजुद यी राष्ट्रहरूमा पनि खेलप्रतिको मोह भने कुनै न कुनै रूपमा ज्युँदै छ । यहाँ तिनै रोचक राष्ट्रहरूको चर्चा गरिएको छ, जो स्वतन्त्र भएर पनि फिफाको परिवारमा अटाउन सकेका छैनन् ।
मार्सल आइल्याण्ड्स : शून्यबाट सम्भावना खोज्दै
प्रशान्त महासागरको काखमा अवस्थित मार्सल आइल्याण्ड्स राष्ट्रसंघका सदस्य राष्ट्रहरूमध्ये सम्भवतः सबैभन्दा अनौठो उदाहरण हो । लामो समयसम्म कुनै पनि आधिकारिक फुटबल संघ वा राष्ट्रिय टोलीसम्म नभएको यो देश विश्वकै अन्तिम त्यस्तो सम्प्रभु राष्ट्र हो । यद्यपि, पछिल्लो समय यहाँ घाँसे मैदानबाटै फुटबलको जग बसाल्न र औपचारिक संरचना खडा गर्न उत्साही प्रयासहरू सुरु भएका छन् ।
मोनाको : नामी क्लब, आधिकारिक टोलीविहीन
युरोपको दोस्रो सबैभन्दा सानो राज्य मोनाकोको नाम सुन्नेबित्तिकै धेरैलाई ‘एएस मोनाको’ को याद आउँछ, जसले फ्रान्सेली लिग १ मा ठूलो सफलता हात पारेको छ । तर, बिडम्बना के छ भने यो धनाढ्य ‘माइक्रोस्टेट’ आफैँमा फिफाको सदस्य भने होइन । फ्रान्सको माथिल्लो दर्जाको लिगमा टोलीले तहल्का मच्चाए पनि देशको रूपमा मोनाकोसँग आफ्नो आधिकारिक फिफा राष्ट्रिय टोली छैन ।
भ्याटिकन सिटी : स्विस गाड्र्स र कर्मचारीको सौखिन फुटबल
विश्वकै सबैभन्दा सानो सम्प्रभु राष्ट्र भ्याटिकन सिटीको कथा झनै चाखलाग्दो छ । यहाँ भ्याटिकनका कर्मचारीहरू, संग्रहालयका गार्डहरू र प्रख्यात स्विस गाड्र्स मिलेर बनेको एउटा अव्यावसायिक टोली छ । यस टोलीले समय–समयमा अन्य गैर–फिफा टोलीसँग मैत्रीपूर्ण खेलहरू त खेल्छ, तर सीमित जनसंख्या, सानो क्षेत्रफल र व्यावसायिक संरचनाको कमीका कारण भ्याटिकन फिफाको सदस्य बनेको छैन ।
माइक्रोनेसियाका संघीय राज्यहरू : भौगोलिक दूरीको चुनौती
सयौँ साना टापुहरूमा छरिएर रहेको माइक्रोनेसियाले समय–समयमा प्यासिफिक गेम्सजस्ता क्षेत्रीय प्रतियोगिताहरूका लागि टोली तयार पारेको इतिहास छ । तर, टापुहरूबीचको विशाल भौगोलिक दूरी, हवाइ यातायातको उच्च खर्च र आर्थिक अभावका कारण यो देशले फिफाको पूर्ण सदस्यता प्राप्त गर्न सकेको छैन ।
पलाउ ः पूर्वाधारको पर्खाइमा ओझेल परेको खेल
प्रशान्त महासागरकै अर्को सुन्दर देश पलाउले विगतमा स्थानीय फुटबल संघ स्थापना गरेर केही अनौपचारिक खेलहरू आयोजना नगरेको होइन । तर, दिगो आर्थिक सहयोग, स्थायी राष्ट्रिय लिग र व्यवस्थित पूर्वाधारको अभावमा यहाँ फुटबलको विकासले निरन्तरता पाउन सकेन र यो देश फिफा सदस्यताबाट टाढै रह्यो ।
नौरू : अस्ट्रेलियन रुल्सको बेग्लै दबदबा
प्रायः देशहरूमा फिफा सदस्यता नहुनुको कारण आर्थिक वा भौगोलिक हुन्छ, तर नौरूको कथा अलि फरक छ । यहाँ फुटबल टोली वा संघ नहुनुको मुख्य कारण सांस्कृतिक रोजाइ हो । नौरूका नागरिकहरू परम्परागत फुटबलभन्दा ‘अस्ट्रेलियन रुल्स फुटबल’ खेल्न र हेर्न बढी रुचाउँछन्, जसले गर्दा यहाँ साधारण फुटबलले प्राथमिकता नै पाउन सकेको छैन ।
किरिबाटी : रंगशाला र पूर्वाधारको तगारो
किरिबाटीले क्षेत्रीय ओसिएनिया फुटबल महासंघ (ओएफसी) मा सह–सदस्यता प्राप्त गरिसकेको छ र अनौपचारिक टोली पनि सञ्चालन गर्छ । तर, फिफाको कडा मापदण्डअनुसारका अन्तर्राष्ट्रिय रंगशाला, व्यवस्थित खेलमैदान र पूर्वाधारको चरम कमीका कारण किरिबाटी आजसम्म फिफाको पूर्ण सदस्यता पाउनबाट वञ्चित छ ।











प्रतिक्रिया