भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः सुरु गर्न माग


लमजुङ।

लमजुङका भारतीय भूतपूर्व सैनिकहरूले भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया पुनः सञ्चालन गर्न नेपाल सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्। उनीहरूले बुधबार जिल्ला प्रशासन कार्यालय लमजुङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि रोकिएको भर्ती प्रक्रिया पुनः खुलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बेसीशहरमा ¥यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका भूतपूर्व सैनिकहरुले भारतीय सेनामा नेपाली युवाको भर्ती बन्द हुँदा हजारौँ युवाले रोजगारीको अवसर गुमाएको उल्लेख गर्दै भारत सरकारसँग औपचारिक वार्ता अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

भारतीय भूपू सैनिक समिति लमजुङका अध्यक्ष चित्रबहादुर गुरुङले सन् १८१५ को सुगौली सन्धि तथा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपाली नागरिक भारतीय सेनामा भर्ती हुँदै आएको स्मरण गराए । भारतले ‘अग्निपथ योजना’ लागू गरेपछि भर्ती प्रक्रिया रोकिएको र त्यसयता नेपाल सरकारबाट प्रभावकारी पहल हुन नसकेको उनको भनाइ छ ।

भूपू सैनिक खेमजङ गुरुङले नेपाली युवाको भविष्य र रोजगारीसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले नेपाल सरकारले कूटनीतिक माध्यमबाट भारतसँग संवाद गरी भर्ती प्रक्रिया पुनः सञ्चालनका लागि पहल गर्नुपर्ने बताए ।

उनका अनुसार अग्निपथ योजनाअन्तर्गत सैनिकलाई चार वर्ष सेवा गराइने, त्यसमध्ये २५ प्रतिशतलाई स्थायी सेवामा राखिने तथा बाँकी ७५ प्रतिशतलाई आर्थिक सुविधासहित विभिन्न सरकारी निकायमा रोजगारीका अवसर प्रदान गर्ने व्यवस्था छ । भारतमै पनि यस योजनाको विरोध भइरहेकाले भविष्यमा नीतिमा परिमार्जन हुन सक्ने सम्भावना रहेको भन्दै त्यसका लागि नेपाल सरकारले समयमै पहल गर्नुपर्ने उनीहरूको धारणा छ ।

भारतीय भूपू सैनिक समिति लमजुङका सचिव रमेश राउतले भर्ती प्रक्रिया पुनः सुरु भए वार्षिक हजारौँ नेपाली युवाले रोजगारी पाउने, सेवा पूरा गरेका अग्निवीरहरूले भारतका विभिन्न सरकारी निकायमा पुनःस्थापनाको अवसर प्राप्त गर्ने, अवकाशपछि आर्थिक सहायता पाउने तथा सैनिक सेवाबाट अनुशासन, नेतृत्व क्षमता र कर्तव्यपरायणताको विकास हुने विश्वास व्यक्त गरे । यसले नेपाल भारतबीचको ऐतिहासिक सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने उनको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मागपत्र सम्बन्धित निकायमा तत्काल पठाइने प्रतिबद्धता जनाए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेत, भारतीय भूपू सैनिक समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।