लमजुङमा अझै आठ जना बेखबर, खोजी जारी

0
Shares

लमजुङ।

लमजुङमा चालु आर्थिक वर्षमा हराएका व्यक्तिमध्ये अझै आठ जना बेखबर रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउनयता महिला, बालबालिका, ज्येष्ठ नागरिक र पुरुष गरी ९५ जना हराएको निवेदन दर्ता भएकोमा ८७ जना फेला परिसकेका छन् भने बाँकी आठ जनाको खोजी कार्य जारी रहेको छ ।

प्रहरीको तथ्याङ्कअनुसार हराउनेमध्ये ३५ जना महिला, ६ जना बालक, २८ जना बालिका, १० जना ज्येष्ठ नागरिक र १६ जना पुरुष रहेका थिए । तीमध्ये ३३ जना महिला, ६ जना बालक, २६ जना बालिका, ९ जना ज्येष्ठ नागरिक र १३ जना पुरुष फेला परेका छन् ।

फेला परेकामध्ये १० जना महिला, चार जना बालक, चार जना बालिका र तीन जना पुरुष परिवारकै पहलमा सम्पर्कमा आएका हुन् भने बाँकीलाई प्रहरीले खोजी गरी परिवारको जिम्मा लगाएको जनाएको छ । फेला परेका सात जना ज्येष्ठ नागरिक भने मृत अवस्थामा भेटिएका थिए । हालसम्म दुई जना महिला, दुई जना बालिका, एक जना ज्येष्ठ नागरिक र तीन जना पुरुष अझै बेखबर रहेको प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा सय जना हराएको निवेदन दर्ता भएकोमा ९७ जना फेला परेका थिए । पछिल्ला वर्षहरुमा प्रविधिको प्रयोग बढेसँगै हराएका व्यक्तिको खोजी कार्य प्रभावकारी बन्दै गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए ।

उनका अनुसार वैदेशिक रोजगारी, पारिवारिक कलह, सामाजिक सञ्जालको दुरुपयोग तथा आफूखुसी विवाह गरी परिवारसँग सम्पर्कविहीन हुनेजस्ता कारणले विशेषगरी महिला तथा बालबालिका बेखबर हुने घटनाहरु बढ्दै गएका छन् । प्रहरीले यस्ता घटनाको न्यूनीकरणका लागि परिवार, समुदाय तथा सरोकारवाला निकायबीच समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको जनाएको छ ।