काठमाडौं ।
जापानमा आयोजना हुने २० औं एसियाली खेलकुदका लागि महिला टोलीले आफ्नो अन्तिम तयारी भारतमा गर्ने भएको छ ।
आगामी असोज ३ गतेदेखि सुरु हुने एसियाडका लागि बिहीबार भारत प्रस्थान गर्ने ११ सदस्यीय नेपाली महिला कबड्डी टोलीले सुरुमा हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना सघन प्रशिक्षण लिनेछ । त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा वैदेशिक अभ्यास खेल खेल्दै प्रशिक्षणलाई निरन्तरता दिने र असोज २ गते भारतबाटै सोझै प्रतियोगितामा सहभागी हुन जापानतर्फ उड्ने कार्यक्रम तय भएको छ ।
मानमती विष्टको कप्तानीमा रहेको राष्ट्रिय टोलीमा जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मिना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री र आस्मा यादव समेटिएका छन् । यस टोलीकी खिममाया खत्रीका लागि २० औं एसियाड नै अन्तर्राष्ट्रिय खेल जीवनको पहिलो यात्रा (डेब्यु) हुनेछ । यस्तै टोलीकी अर्की महत्त्वपूर्ण सदस्य अनुजा कुलुङ राई प्राविधिक (मेडिकल) कारणले प्रतियोगिताबाट बाहिरिनुपरेको छ । अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाका अनुसार अनुजाको स्थानमा कुन खेलाडीलाई समावेश गर्ने भन्ने विषयमा शीघ्र निर्णय गरिनेछ ।
चीनको हाङझावमा सम्पन्न १९ औं एसियाडमा ऐतिहासिक कांस्य पदक जितेको नेपाली महिला टोलीको एसियाली खेलकुदमा यो दोस्रो सहभागिता हो । अघिल्लो संस्करणमा पदक जित्न सफल टोलीका मानमति, जयन्ती, रविना, मेनुका, गंगा र सिर्जना गरी ६ जना अनुभवी खेलाडीहरू अहिलेको टोलीमा पनि कायम छन् । यसअघि इरानमा भएको एसियाली कबड्डी प्रतियोगिता र चीनमा भएको एसियाली बिच खेलकुदमा समेत कांस्य पदक जितिसकेको महिला टोलीलाई यसपटक पनि मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनधारीले मार्गनिर्देशन गरिरहेका छन् ।
प्रतियोगितामा कुल ८ राष्ट्रको सहभागिता रहने महिला कबड्डीतर्फ नेपाल समूह ‘बी’ मा परेको छ । जहाँ नेपालले श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईको सामना गर्नेछ । ताइपेई अघिल्लो संस्करणको उपविजेता टोली हो, जुन फाइनलमा भारतसँग १ अंकको सुक्ष्म अन्तरले पराजित भएको थियो । यस्तै समूह ‘ए’ मा इरान, जापान, बंगलादेश र भारत रहेका छन् । बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहता, कबड्डी संघकी अध्यक्ष तुलसी थापा, महासचिव झा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले टोलीलाई भव्य बिदाइ गरे । बिदाइ कार्यक्रममा सदस्य-सचिव मेहताले महिला टोलीको विगतको सफलता र तयारीका आधारमा यसपटक पनि पदकको उच्च आशा राखिएको बताएका छन् ।











प्रतिक्रिया