विराटनगर।
आइतबार राति एक जनाको गोली लागेर मृत्यु र दुई दर्जन ब्यक्ति घाइते हुने गरी दुई पक्षबीच भएको उग्र झडप र तनावका कारण अशान्त बनेको सुनसरीको देवानगञ्ज र आसपासका क्षेत्रहरू बुधबार बिहानदेखि बिस्तारै शान्त बन्दै गएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेसँगै र सुरक्षा निकायले कडा निगरानी बढाएपछि स्थितिलाई नियन्त्रणमा आउन थालेको छ । मंगलबार राति अबेरसम्म झडप, आगजनी र तोडफोडका घटनाहरू भए पनि बुधबार बिहानैदेखि भने कुनै पनि अप्रिय घटना घटेका छैनन्।
स्थतिलाई पूर्ण रूपमा साम्य पार्न र बिग्रिएको सामाजिक सद्भावलाई पुनः स्थापित गर्न घटना भएको मुख्य स्थान कप्तानगञ्जमा सर्वदलीय बैठक बसेको छ । बैठकमा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, सम्पूर्ण वडाका वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र गाउँका भद्रभलाद्मीहरूको बाक्लो उपस्थिति थिए ।
बैठकमा राजनीतिक दलका स्थानीय नेता, सामाजिक सङ्घ संस्थाका अगुवाहरू सहभागी थिए । संवादको माध्यमबाट समस्या समाधान गर्ने साथै शान्ति र सद्भाव कायम गर्न उनीहरूले प्रतिबद्धता जनाएका छन् । कुटपिट, तोडफोड, आगजनी, लुटपाट तथा एकअर्काको धनमालमा पुगेको क्षति रोक्न सबैले पहलगर्नु पर्ने विषय बैठकमा उठेको छ । हरिनगर गाउँपालिकाको सर्वपक्षीय बैठकले ७ वटै वडामा शान्ति सुरक्षामा असर पर्नर् गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन्।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बैठकमा सबै जातजाति र समुदायलाई संयमित भई सामाजिक सद्भाव, कायम गरी शान्ति निर्माणका लागि अपिल गर्नुभयो । अध्यक्ष अन्सारीले हरिनगरमा कुनै पनि हालतमा शान्ति सुरक्षा खलबलिन नदिने दाबी गर्दै नेपाल प्रहरी र स्थानीय प्रशासनलाई कडा सुरक्षा व्यवस्था मिलाउन भनिसकिएको बताउनुभयो । देवानगञ्जमा भएको बैठकमा पनि स्थानीय वस्तुस्थिति सुन्ने सुनाउने काम भएको अध्यक्ष वेचनप्रसाद मेहताले बताउनुभयो ।
मृतकका परिवारलाई २ लाख राहत दिने कोशी सरकारको घोषणा
उता कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रूपैयाँ र घर, पसल साथै अन्य आगजानी भएका परिवार तथा घाइतेलाई ५० हजारका दरले राहत दिने घोषणा गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको सर्वदलीय बैठकमा सरकारले राहतको घोषणा गरेको गरेको हो । सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्न ८ बुँदे निर्णयसमेत गरेको छ । मृतक ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । यस्तै, सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा तथा सार्वजनिक अपिललगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ।
बैठकले सबै धार्मिक समुदायका संघ–संस्थाले संयुक्त अपिल जारी गर्दै समन्वय र सहजीकरणमा भूमिका खेल्नुपर्ने, सीमाक्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ। घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री कार्कीले संवेदनशील घडीमा सामाजिक सद्भावलाई खलल पुग्ने गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा नेकपा एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं प्रदेशस्तरका सुरक्षा निकायका प्रमुख र उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।
कप्तानगञ्ज पुग्यो गृह मन्त्रालयको छानबिन समिति
यस्तै सरकारले बनाएको सहसचिव नेतृत्वको छानबिन समिति पनि देवानगन्जमा पुगेर मृतक परिवार र स्थानीयसँग छलफलमा जुटेको छ । समितिका सदस्यहरुले आइतबार भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ३० वर्षीय ओमप्रकाश मेहताको परिवारसँग पनि भेटघाट गरेका छन् । सहसचिव थापाले सवैबाट आएका कुरा समेटेर सुझाव सहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने बताउनुभयो । पीडित परिवारसँगको भेटमा उहाँले भन्नुभयो, ‘सबै मागहरू समेटेर स्थलगत प्रतिवेदन बुझाउँछौँ, फिल्डको यथार्थ बुझाउने हाम्रो काम हो ।’सरकारले गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । थापाको संयोजकत्वमा रहेको समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी र जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिवहुनुहुन्छ ।
तर छानबिन समितिमा एसपी विपिन रेग्मीलाई राखिएकोमा भने स्थानीयले असन्तुष्टि जनाएका छन् । स्थानीयहरूले समितिको सदस्यमा रहेका नेपाल प्रहरीका एसपी विपीन रेग्मीले दुई वर्षअघि सुनसरी जिल्लाको प्रहरी प्रमुख हुँदा दमन गरेको आरोप लगाउँदै उनलाई हटाउनुपर्ने माग गरेका छन्। गोलीकाण्डका पीडित पक्षले घटनामा संलग्न रहेको आरोप लागेका एक वडा अध्यक्षलाई तत्काल निलम्बन गर्न तथा पीडित परिवारको जीविकोपार्जनका लागि रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। पीडित पक्षका अनुसार प्रभावित क्षेत्रमा करिब ६० घरधुरी रहेका छन्। हाल उनीहरू खाद्यान्न अभावमा रहेको भन्दै तत्काल राहतस्वरूप रासन उपलब्ध गराउन पनि माग गरिएको छ।
मंगलबारको तुलनामा बुधबार यस क्षेत्रका गाउँहरूको जनजीवन सामान्य बन्दै गएको छ। हिजो दिनभर सुनसरीका विभिन्न स्थानमा भएका झडपका कारण घरभित्रै त्रसित अवस्थामा रहेका सर्वसाधारणहरू बिहानबाट बाहिर निस्कन थालेका छन्। सडकहरूमा मानिसहरूको फाट्टफुट्ट आवतजावत बढेको छ भने, गाउँलेहरू त्रासलाई भुल्दै बिस्तारै आफ्नो दैनिक कामकाज र खेतबारीको काममा निस्कन थालेका छन्। यद्यपि, कफ्र्युको नियमलाई भने सर्वसाधारणले पालना गरिरहेका छन्। सुनसरीको दक्षिणी क्षेत्रहरूमा आज बिहानैदेखि नेपाली सेनाले गस्ती सुरु गरेपछि अवस्था थप सामान्य र सुरक्षित महसुस गरिएको छ। दिनभर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्थलगत रुपमा स्थिति पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ। कफ्र्युसँगै बिहानैदेखि सुनसरीका मुख्य बजार तथा ग्रामीण क्षेत्रका चोक–चोकमा सुरक्षा निकायको बाक्लो र तैनाथी उपस्थिति रहेको छ।दिनभर हवाइमार्गबाट हेलिभप्टर र ड्रोनबाट सुरक्षा निगरानी गरिएको छ ।
यसैबीच, सामाजिक सञ्जालमा धारिलो हतियार प्रहार भएका र पुराना हिंसात्मक घटनाका भ्रामक तस्बिर तथा भिडियोहरू शेयर भइरहेको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीले त्यस्ता तथ्यहीन र समाजमा उत्तेजना फैलाउने अफवाहको पछि नलाग्न र संयमता अपनाउन सम्पूर्ण सर्वसाधारणमा विशेष अनुरोध गरेको छ।
स्थिति नियन्त्रण बाहिर जान नदिन र थप क्षति हुन नदिन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले अर्को आदेश जारी नभएसम्मका लागि तोकिएका क्षेत्रहरूमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा र घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको बताउनु भएको छ ।
हाल कफ्र्यु जारी भएका क्षेत्रहरूमा इटहरी उपमहानगरपालिकाः वडा नं. १६ र १७ को पूर्व–पश्चिम महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ। रामधुनी नगरपालिकाः वडा नं. १ र ५ को महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र तोकीएको छ । यसै इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिका सबै क्षेत्रमा कफ्र्यु जारी गरिएको छ । स्थानीय प्रशासनले कफ्र्यु आदेशको पूर्ण पालना गर्न र शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सम्पूर्ण नगर तथा गाउँवासीलाई आग्रह गरेको छ।











प्रतिक्रिया