काठमाडौं।
हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्र प्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा कम्पनीका प्रतिनिधि लक्ष्मी प्रसाद प्रसाईँ तथा डा. निरञ्जन आचार्यको समेत सहभागिता रहेको थियो।
सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले दाँत तथा मुखसम्बन्धी विभिन्न स्वास्थ्य समस्या भएका बिरामीलाई विशेषज्ञ उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालले बिरामीको आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार विभिन्न विशिष्टीकृत दन्त उपचार सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
अस्पतालमा रुट क्यानल उपचार, ओरल तथा म्याक्सिलोफेसियल सर्जरी, कम्युनिटी डेन्टिस्ट्री, पेरियोडोन्टिक्स, प्रोस्थोडोन्टिक्स तथा म्याक्सिलोफेसियल प्रोस्थेसिस, अर्थोडोन्टिक्स तथा डेन्टोफेसियल अर्थोपेडिक्स, पेडोडोन्टिक्स, कन्जर्भेटिभ डेन्टिस्ट्री तथा इन्डोडोन्टिक्सलगायतका सेवा सञ्चालनमा रहेका छन्।
त्यसैगरी, अस्पतालले डेन्टल इम्प्लान्ट, अपरेशन थिएटर, आधुनिक निदान प्रविधि, मिलिङ मेसिन तथा लेजर डेन्टिस्ट्रीलगायतका प्रविधियुक्त सेवा पनि उपलब्ध गराउँदै आएको छ। बिरामीको सहजताका लागि आवश्यकताअनुसार एम्बुलेन्स सेवासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
आधुनिक प्रविधि, विशेषज्ञ जनशक्ति र उपचार सेवाको संयोजनमार्फत एउटै संस्थाबाट दन्त स्वास्थ्यसम्बन्धी आवश्यक उपचार तथा निदान सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले आफ्नो सेवा विस्तार गर्दै आएको छ।
दन्त स्वास्थ्य सेवासँगै गुणस्तरीय दन्त शिक्षा प्रदान गर्दै आएको हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धनप्राप्त संस्था हो। सन् २००८ मा स्थापना भएको संस्थाले दन्त स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। हाल संस्थाले १९औँ ब्याचसम्मको शैक्षिक यात्रा पूरा गरेको जनाएको छ।
स्वास्थ्य सेवा र शिक्षालाई सँगसँगै अघि बढाउँदै आएको हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्सले देशका विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै नेपालको दन्त स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आएको जनाएको छ।











प्रतिक्रिया