ललितपुर ।
ललितपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि सुशन महर्जनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको मंगलबार बसेको कार्यसमिति बैठकले आगामी असोज २३ र ३४ गते ४७औँ साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेसँगै महर्जनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
उनी संघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् । यस अगाडि संघमा उपाध्यक्ष र कार्यसमिति सदस्य रहेर काम गरिसकेको अनुभव पनि उनीसँग छ । नेपाल उद्योग वाणिज्य महासंघको समिति सदस्य भएर काम गरिसकेका छन् ।
वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकाले आफू अध्यक्षको स्वाभाविक दाबेदार रहेको महर्जनले बताएका छन् । संघमा लामो समयदेखि आबद्ध रहँदै आएका उनी उद्योगी–व्यवसायीका हकहित र व्यावसायिक सुरक्षाका लागि निरन्तर सक्रिय रहँदै आएका छन् ।
‘संघमा आबद्ध सम्पूर्ण उद्योगी–व्यवसायी साथीहरूको माया, साथ र विश्वास प्राप्त हुनेमा म पूर्ण रूपमा विश्वस्त छु,’ महर्जनले भने, ‘निजी क्षेत्रका समस्या र आवाजलाई तीनवटै तहका सरकारका साथै छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघसम्म सशक्त रूपमा पु¥याएर तिनको व्यावहारिक समाधान खोज्नु मेरो मुख्य प्राथमिकता हुनेछ ।’
सफल उद्यमीको पहिचान बनाएका महर्जन महालक्ष्मी ह्युमपाइप उद्योगका प्रबन्ध निर्देशक हुन् । उनी महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज, हिमालय क्राफ्ट, महालक्ष्मी मोटर्स, सुसन कन्स्ट्रक्सन र प्रिकास्ट कन्क्रिट सोलुसन नेपाल लगायतका थुप्रै व्यावसायिक प्रतिष्ठानहरूमा सम्बद्ध छन्।











प्रतिक्रिया