काठमाडौं।
आधुनिक तथा सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा वित्तीय सचेतनाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
बैंकले विगत १९ वर्षदेखि बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको बताउँदै सीएसआरलाई केवल परोपकारी सहयोग नभई दिगो विकास, समावेशी वृद्धि र समुदायसँगको दीर्घकालीन सहकार्यको माध्यमका रूपमा अघि बढाएको जनाएको छ।
बैंकका अनुसार गत आर्थिक वर्षमा सीएसआरअन्तर्गत सञ्चालन गरिएका विभिन्न कार्यक्रमबाट लाखौँ सर्वसाधारण लाभान्वित भएका छन्। वित्तीय समावेशीकरण र वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले सातै प्रदेशमा रहेका १४८ शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो।
उक्त अभियानबाट करिब १० हजार विद्यार्थी, महिला, किसान, मजदुर, वैदेशिक रोजगारीमा जान लागेका व्यक्ति तथा अन्य लक्षित वर्गलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङ, साइबर सुरक्षा र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ।
स्वास्थ्य क्षेत्रमा बैंकले बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको थियो। उक्त शिविरबाट करिब ८०० जनाले निःशुल्क आँखा परीक्षण सेवा पाएका थिए भने परीक्षणका क्रममा मोतिबिन्दु पहिचान भएका करिब १५० जनाको निःशुल्क शल्यक्रिया गरिएको बैंकले जनाएको छ।
त्यसैगरी, म्याग्दीस्थित भगवती स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि आवश्यक एचडीपीई पाइप हस्तान्तरण गरिएको छ। उक्त स्वास्थ्य चौकीबाट वडा नं. १ र २ का ४ हजार ३०० भन्दा बढी स्थानीय बासिन्दाले आधारभूत स्वास्थ्य सेवा लिँदै आएका छन्।
वातावरण संरक्षणतर्फ बैंकले “एक खाता, एक रुख” अभियान सञ्चालन गरेको जनाएको छ। विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौंको बूढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा करिब २५० बिरुवा रोपिएको थियो। साथै, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत वृक्षारोपण गरी देशभर कुल १ हजार ५०० बिरुवा रोपिएको बैंकले जनाएको छ।
शिक्षा क्षेत्रमा बैंकले कर्णाली प्रदेशको हुम्ला जिल्लास्थित अदानचुली गाउँपालिका–३ मा रहेको श्री छत्रपाल आधारभूत विद्यालयका २०५ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ। यसले दुर्गम क्षेत्रका विद्यार्थीको शैक्षिक वातावरण सुधारमा सहयोग पुगेको बैंकको भनाइ छ।
त्यस्तै, दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल पेपर, ई–ग्रेड ब्रेल स्टाइलस, इन्टरपोइन्ट ब्रेल स्लेट, विद्यालय झोला तथा आवश्यक सफ्टवेयरसहितका शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ। यसबाट दृष्टिविहीन विद्यार्थीको अध्ययनलाई थप सहज बनाउन सहयोग पुगेको बैंकको विश्वास छ।
बैंकले हालसम्म सञ्चालन गरेका १०० भन्दा बढी सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सातै प्रदेशका लाखौँ नागरिक प्रत्यक्ष तथा परोक्ष रूपमा लाभान्वित भएको जनाएको छ।
सिटिजन्स बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा निरन्तरता दिँदै समाज, वातावरण र राष्ट्रको दिगो विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।











प्रतिक्रिया