काठमाडौं।
आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएको छ। बुधबार दिनभर चलेको अनौपचारिक छलफललाई औपचारिक रूप दिँदै दुवै पक्ष सहमतिमा पुगेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्तामा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव र गृह मन्त्रालयका सहसचिव सहभागी थिए। आन्दोलनरत चिकित्सकका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. विश्वराज दवाडी तथा सहकोषाध्यक्ष डा. तेजसु सिंह मल्ल सहभागी भएका थिए।
गत शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि कुटपिट गरेका थिए। उक्त घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन घोषणा गरेको थियो।
संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा बन्द गरिएका थिए। सरकारसँग पाँच बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलन स्थगित गरेको जनाएको छ।
सहमतिपछि नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ। पाँच बुँदे सहमतिको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।













प्रतिक्रिया