काठमाडौं।
ललितपुर महानगरपालिका वडा नं २१ले ललितपुरलाई काठमाडौंसँग जोड्ने पुल निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
वडाले आयोजना गरेको वार्षिक कार्यक्रम तथा आयोजनाबारे जानकारी दिन पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष रवीन्द्र महर्जनले पुल निर्माणपछि स्थानीयको आवतजावत सहज हुने उद्देश्यले बजेट छुट्याइएको जानकारी दिए।
वडाले खोकनाको सांस्कृतिक महत्वलाई संरक्षण गर्दै ‘देउता लाने बाटो’ निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। यस्तै, पूर्वाधार विकासतर्फ समपुरक योजनाअन्तर्गत सी–लं सडक निर्माणका लागि करिब ३ करोड ७६ लाख रुपैयाँ छुट्याइएको छ। उक्त सडक निर्माणका लागि छिट्टै टेन्डर प्रक्रिया अघि बढाइने वडाध्यक्ष महर्जनले बताए।
वडा स्थापना भएयता खोकना क्षेत्रमा ढुंगा छाप्ने काम तथा ३ किलोमिटरभन्दा बढी ढल निकास निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए। खोकनाको सम्पदा बस्ती संरक्षणका लागि ‘खोकनाको घुम्ती सडक’ निर्माण पनि अन्तिम चरणमा पुगेको बताइएको छ।
चालु आर्थिक वर्षमा वडाभित्र रहेका चार वटा स्थानीय सडकको समस्या समाधान गरिने वडाध्यक्ष महर्जनले दाबी गरे।
खानेपानी र पूर्वाधारमा प्राथमिकता
वडाले नागरिकको खानेपानी समस्या समाधानका लागि न्यूनतम महसुलसमेत व्यवस्थापन गर्ने योजना अघि सारेको छ। खानेपानी ट्यांकी निर्माण तथा विस्तारका लागि ५० लाख रुपैयाँ, ट्रक लाइन विस्तारका लागि १ करोड रुपैयाँ, राजकुलो निर्माणका लागि ७५ लाख रुपैयाँ, कुलो निर्माणका लागि १८ लाख रुपैयाँ र पोखरी निर्माणका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यस्तै, स्थानीय गुठी निर्माणका लागि ३० लाख रुपैयाँ र सिकाली मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ छुट्याइएको छ। तार–लं सडकका लागि ९० लाख, दे–लं सडकका लागि ४५ लाख, सा–लं सडकका लागि १५ लाख र कुलो निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष महर्जनले जानकारी दिए।
वडाले चालु आर्थिक वर्षका लागि ७७ वटा शीर्षकमा कार्यक्रम तयार गरी नगरसभाबाट पारित गराइसकेको जनाएको छ।
स्वास्थ्य, शिक्षा र पर्यटनमा पनि लगानी
वडाले ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर उक्त कार्यक्रम ल्याइएको वडाध्यक्ष महर्जनले बताए।
त्यसैगरी ‘नागरिक स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत चिकित्सक सेवा, प्रयोगशाला र औषधिको व्यवस्था गरिएको छ। यसबाट वडावासीले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा पाउने व्यवस्था गरिएको उनले जानकारी दिए।
खोकनाको संस्कृति संरक्षणमा योगदान पुर्याउने विद्यार्थीलाई लक्षित गर्दै कक्षा १२ सम्म निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएको छ। विगत तीन वर्षदेखि वडाको सहयोगमा विद्यार्थीहरूले उक्त सुविधा लिँदै आएको वडाध्यक्ष महर्जनले बताए।
बालबालिकाको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम तथा ‘बालमहोत्सव’ आयोजना गर्ने तयारी पनि वडाले गरेको छ।
पर्यटन प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा ‘पर्यटन महोत्सव’ सञ्चालन गर्ने योजना रहेको छ। यसअघि पनि ‘भूकम्पपछिको खोकना’ शीर्षकमा पर्यटन महोत्सव आयोजना गरिएको वडाध्यक्ष महर्जनले स्मरण गरे।
मौलिक पेशा र सम्पदा संरक्षणमा जोड
खोकनाको परम्परागत तेल उत्पादनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन समुदायस्तरमा सञ्चालित चार वटा तेल मिल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसका लागि चालु आर्थिक वर्षमा २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
पर्यटन प्रवर्द्धनका लागि हालसम्म करिब १०० जनालाई होमस्टे सेवामा आबद्ध गरिएको तथा खोकनामा नेवारी शैलीका घर निर्माणलाई प्राथमिकता दिइएको वडाध्यक्ष महर्जनले बताए। सटररहित घर निर्माणलाई प्रोत्साहन गर्ने नीति पनि वडाले लिएको छ।
गृहिणी महिलाको आर्थिक सशक्तीकरणका लागि धागो कात्ने, धुप बनाउने, सुकुल बुन्ने, पाउँ, पुष्टकारी, योमरी, केमोमाइल, सर्फ तथा साबुन बनाउने जस्ता मौलिक पेशामा आर्थिक सहयोग गरिएको उनले जानकारी दिए।
ललितपुर महानगरपालिका–२१ ले चालु आर्थिक वर्षमा नगरस्तरबाट करिब ६ करोड ६० लाख रुपैयाँभन्दा बढी बजेट प्राप्त गरेको वडाध्यक्ष महर्जनले जानकारी दिए।











प्रतिक्रिया