काठमाडौं।
नेपालमा घर, फ्ल्याट, सटर, अपार्टमेन्ट तथा व्यावसायिक भवनको भाडा व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यसहित एजिनेक्स क्लाउडले नयाँ क्लाउड–आधारित प्रणाली ‘भाडासेवा’ सार्वजनिक गरेको छ।
‘व्यवस्थित भाडा, सुमधुर सम्बन्ध’ भन्ने नारासहित ल्याइएको ‘भाडासेवा’ घरधनी, भाडावाला, अपार्टमेन्ट, सपिङ मल, व्यावसायिक कम्प्लेक्स तथा प्रपर्टी व्यवस्थापन कम्पनीका लागि एकीकृत डिजिटल समाधान भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नेपालमा अधिकांश घरभाडा व्यवस्थापन अझै पनि कागजी अभिलेख, डायरी वा एक्सेल फाइलमा सीमित रहेकाले भाडा उठाउन ढिलाइ, हिसाब–किताबमा त्रुटि, सम्झौता व्यवस्थापनमा कठिनाइ तथा सञ्चालन प्रक्रियामा झन्झट हुने गरेको छ। यही समस्यालाई समाधान गर्न ‘भाडासेवा’ विकास गरिएको हो।
यस प्रणालीमार्फत भवन, ब्लक, तला तथा प्रत्येक कोठा वा सटरको डिजिटल अभिलेख राख्न सकिनेछ। कुन युनिट खाली छ, कुन भाडामा छ, सम्झौताको अवधि, आम्दानीलगायत सम्पूर्ण विवरण रियल–टाइममा हेर्न सकिने कम्पनीको दाबी छ।
‘भाडासेवा’मा भाडावालाको डिजिटल प्रोफाइल, प्रवेश तथा बहिर्गमन विवरण, सम्पर्क, सम्झौताको अवधि र सम्पूर्ण इतिहास सुरक्षित रूपमा राख्न सकिने सुविधा उपलब्ध छ। साथै, डिजिटल सम्झौता तयार गर्ने, हस्ताक्षर गर्ने र सुरक्षित रूपमा अभिलेख राख्ने व्यवस्था पनि गरिएको छ।
यस प्रणालीले मासिक भाडाको बिल स्वतः तयार गर्ने, अनलाइन भुक्तानी स्वीकार गर्ने, भुक्तानी ट्र्याक गर्ने तथा डिजिटल रसिद उपलब्ध गराउने सुविधा प्रदान गर्छ। बिजुली, पानीलगायत युटिलिटी सेवाको बिलिङ पनि एउटै प्रणालीबाट गर्न सकिने कम्पनीले जनाएको छ।
अपार्टमेन्ट तथा व्यावसायिक भवनका साझा क्षेत्रको खर्च व्यवस्थापन, मर्मतसम्भारको रेकर्ड, कर्मचारी व्यवस्थापन, आम्दानी–खर्चको विश्लेषण, विस्तृत रिपोर्टिङ तथा भाडा तिर्ने मिति, सम्झौता नवीकरण र मर्मतसम्बन्धी सूचना एसएमएस, इमेल, पुश नोटिफिकेसन र इन–एप नोटिफिकेसनमार्फत उपलब्ध हुने व्यवस्था पनि प्रणालीमा समावेश गरिएको छ।
कम्पनीका अनुसार ‘भाडासेवा’ कम्प्युटर, ट्याबलेट र मोबाइलबाट सञ्चालन गर्न सकिनेछ। साथै, प्रणालीमा सुरक्षित डेटा इन्क्रिप्सन र नियमित ब्याकअपको सुविधा भएकाले सूचना सुरक्षित रहने दाबी गरिएको छ।
‘भाडासेवा’ विशेषगरी घरधनी, अपार्टमेन्ट, सपिङ मल, बजार, पसल, व्यावसायिक भवन तथा प्रपर्टी व्यवस्थापन कम्पनीका लागि उपयोगी हुने कम्पनीको भनाइ छ।
एजिनेक्स क्लाउडले ‘भाडासेवा’ केवल सफ्टवेयर मात्र नभई नेपालमा घरभाडा तथा व्यावसायिक सम्पत्ति व्यवस्थापनलाई डिजिटल, पारदर्शी र आधुनिक बनाउने अभियानका रूपमा विकास गरिएको जनाएको छ। समय, लागत र श्रम बचत गर्दै सम्पूर्ण व्यवस्थापनलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यसहित यो प्रणाली सार्वजनिक गरिएको कम्पनीले उल्लेख गरेको छ।











प्रतिक्रिया