देवानगञ्ज घटनाका पीडितलाई प्रदेश सरकारको राहत घोषणा, मृतकका परिवारलाई २ लाख


विराटनगर।

कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ र आगजनीबाट घर, पसल तथा अन्य सम्पत्तिमा क्षति पुगेका परिवार तथा घाइतेलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले राहत घोषणा गर्दै सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आठबुँदे निर्णयसमेत गरेको हो।

साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिको समीक्षा तथा आगामी कदम तय गर्न बैठक आयोजना गरिएको प्रदेश सरकारले जनाएको छ।

बैठकले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

निर्णयअनुसार सामाजिक सद्भाव र साम्प्रदायिक एकता सुदृढ बनाउन राजनीतिक दल, सामाजिक संघसंस्था तथा प्रशासनबीच समन्वयात्मक पहल गरिनेछ। यसका लागि स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सामाजिक सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ।

त्यस्तै, स्थानीय प्रशासनसँगको समन्वयमा समुदायस्तरमा मेलमिलाप र सामाजिक एकता प्रवर्द्धन गर्न सद्भाव यात्रा, सार्वजनिक अपिल तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले सबै धार्मिक समुदायका संघसंस्थालाई संयुक्त अपिल जारी गरी सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। साथै, सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता बढाउन तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री कार्कीले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षसँग आग्रह गरे।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा (एमाले) का प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।