माधव पोखरेल
उदयपुर ।
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय तदर्थ समितिले उदयपुर जिल्ला शाखाको कार्यसमिति विघटन गर्दै नयाँ तदर्थ समिति गठन गरेको छ ।
केन्द्रीय तदर्थ समितिको साउन ४ गते बसेको बैठकले नेपाल रेडक्रस सोसाइटीको विधान, २०२० (अठारौं संशोधन, २०८२ सहित) को परिच्छेद ८ दफा २४ (ढ) बमोजिम शम्भुप्रसाद पौडेलको सभापतित्वमा रहेको उदयपुर जिल्ला शाखा समिति विघटन गर्ने निर्णय गरेको हो ।
सोही निर्णयअनुसार विधानको दफा ६५ (५) बमोजिम त्रियुगा नगरपालिका–८ निवासी मदनराज कटुवालको सभापतित्वमा नयाँ जिल्ला शाखा तदर्थ समिति गठन गरिएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, रेडक्रस मार्ग, कालीमाटीले जनाएको छ ।
उक्त समिति तोकिएको समयावधिसम्म कार्यरत रहनेछ । नवगठित तदर्थ समितिको सभापतिमा मदनराज कटुवाल, मन्त्रीमा महेश रोक्का तथा कोषाध्यक्षमा मोहन निरौला रहेका छन् । त्यसैगरी सदस्यहरूमा रविन्द्र खड्का, विना पाण्डे, टंकबहादुर श्रेष्ठ, राजिव तामाङ, पुष्पराज पोखरेल, सरोज कार्की, इसिका थापा र सुमन गुप्ता रहेका छन् ।
केन्द्रीय कार्यालयले तदर्थ समितिलाई स्पष्ट कार्यादेशसमेत दिएको छ । कार्यादेश अनुसार समितिले जिल्ला शाखाको सम्पूर्ण वित्तीय अवस्था, बक्यौता रकम, बैंक हिसाब, सम्पत्ति तथा दायित्वको परीक्षण गरी आवश्यक कार्ययोजना सहितको विस्तृत प्रतिवेदन ३० दिनभित्र केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ ।त्यसैगरी सदस्यता अद्यावधिक, संस्थागत सुदृढीकरण तथा अन्य सांगठनिक कार्ययोजना तयार गरी नेपाल रेडक्रस सोसाइटीको मौजूदा विधानअनुसार निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने दायित्व पनि तदर्थ समितिलाई दिइएको छ ।
केन्द्रीय तदर्थ समितिले अघि सारेको रोडम्याप कार्यान्वयनमा आवश्यक समन्वय र सहयोग गर्ने तथा केन्द्रीय कार्यालयबाट समय–समयमा दिइने निर्देशन अनुसार कार्यसम्पादन गरी प्रतिवेदन पेश गर्नु पर्ने व्यवस्था पनि कार्यादेशमा उल्लेख गरिएको छ ।
केन्द्रीय कार्यालयले नवगठित तदर्थ समितिले नेपाल रेडक्रस सोसाइटीका मूल्य, मान्यता र मानवीय आदर्शअनुसार निष्पक्ष, पारदर्शी र जिम्मेवार ढंगले कार्य गर्ने विश्वास व्यक्त गरेको छ । तदर्थ समितिले संगठनलाई संस्थागत रूपमा सुदृढ बनाउँदै आगामी निर्वाचित नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने वातावरण तयार गर्ने अपेक्षा केन्द्रीय कार्यालयको रहेको जनाइएको छ ।
यसैबीच, उक्त निर्णयबारे जानकारी गराउँदै आवश्यक समन्वय र सहयोगका लागि जिल्ला प्रशासन कार्यालय, उदयपुरलाई समेत बोधार्थ पत्र पठाइएको केन्द्रीय कार्यालयले जनाएको छ । नयाँ तदर्थ समितिले वित्तीय तथा प्रशासनिक अवस्था व्यवस्थित गर्दै संगठनलाई विधानसम्मत प्रक्रियामार्फत नियमित नेतृत्वमा लैजान आवश्यक पहल गर्ने विश्वास गरिएको छ ।












प्रतिक्रिया