देवानगन्ज घटना थप जटिल नबनोस्


सुनसरीको देवानगन्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबाट ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने आठजनालाई गोली लागेको छ । तीमध्ये दुईजनाको अवस्था गम्भीर छ र दर्जनौँ घाइते भएका छन् । बोलबम यात्री र स्थानीय समुदायबीच भनाभनपछि भएको झडप नियन्त्रण गर्न प्रहरी घटनास्थलमा पुगेको थियो । बोलबमका समयमा तनाव हुनसक्ने आँकलन गर्न प्रहरी प्रशासन चुकेको देखियो । तराईमा प्रायजसो सरस्वती, विश्वकर्मा र दुर्गाको मूर्ति सेलाउने बेला यसरी झडप हुने गरेको छ । मुस्लिम र हिन्दूबीचको वैमनस्यताले तनाव बढाउने गरेको छ । देवानगन्जमा पनि त्यही दोहोरिएको छ । एक पक्षले ठूलो आवाजमा बाजा बजाएको निहँुमा दुई पक्षबीच झडप भएको थियो । अर्थात् हिन्दू र मुस्लिम समुदायबीच भनाभन र हानाहान भएको थियो ।

यस घटनामा परेर ९ सर्वसाधारण, १० नेपाल प्रहरी र ५ सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् । झडप हुँदा सुरक्षाकर्मीले सामान्यरुपमा लिए पनि झडपले उग्ररुप लिएपछि प्रहरी बल प्रयोग भएको थियो । सामान्यतया सुरक्षा रणनीतिअनुसार शुरुमा लाठी प्रहार गरेर भीड हटाउनुपर्ने थियो । त्यसो गर्दा पनि भीड नियन्त्रण हुन नसके अश्रुग्यास प्रहार गर्नुपर्ने थियो । त्यसबाट पनि पार नलागे रबर गोली प्रहार गर्नुपर्ने थियो । तर त्यसो नगरी यस घटनामा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्न पुग्यो । गोली प्रहार गर्दा घुँडामुनि हान्नुपर्ने मान्यता छ तर अधिकांशलाई कम्मरमाथि गोली लागेको छ । गोली प्रहार भएपछि स्थानीय आक्रोशित भएका थिए ।

आक्रोशको कारण सुनसरीमा कफर््यु लागेको छ । विराटनगरका विद्यालय बन्द भएका छन् । हिंसात्मक झडपपछि सरकारले प्रशासन र सुरक्षा संयन्त्रमा समेत व्यापक हेरफेर गरेको छ । घटनालाई गम्भीररूपमा लिँदै गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई फिर्ता बोलाएको छ । गृह मन्त्रालयले सीडीओ घिमिरेको स्थानमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएको छ भने डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय खटाएको छ ।

सरकारले घटना छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिले काम थालिसकेको छ । समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । समिति बनाए पनि आन्दोलन भने रोकिएको छैन । तराईका केही जिल्ला अशान्त छन् । सरकारले आवश्यकताको आधारमा सेना परिचालन गरेको छ । कोशी प्र्रदेश सरकारले सद्भाव कायम गर्न अपिल गरेको छ । यता जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको छ, तैपनि झडप रोकिएको छैन ।

सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय गरेको छ । घटनाको राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ । भीड नियन्त्रणका क्रममा सुरक्षाकर्मीले अनुचित बल र घातक हतियार प्रयोग गरेको, पूर्वचेतावनी नै नदिई गोली चलाएको आरोप लगाइएको छ । प्रहरीमा पुरानो हैकमी शैली आधुनिक युगमा प्रभावकारी नभएकै कारण बारम्बार एउटै शैलीको सुरक्षा कमजोरी दोहोरिएको हो । स्थानीयले ढुंगा हानेको बहानामा गोली हान्नु उचित हुँदैन । सुरक्षाकर्मीको मानसिकतामा परिवर्तन हुनुपर्छ । अनि मात्र समस्या समाधान हुन सक्छ । होइन भने सुरक्षाकर्मीकै कारण तनाव झन् बढ्न सक्छ । यो घटनालाई थप जटिल बन्न नदिन सबै पक्ष संवेदनशील हुनै पर्छ ।