जिनेदिने जिदानले फ्रान्स सम्हाल्ने


लन्डन, (एजेन्सी) ।

एक पटक विश्व च्याम्पियन बनेका जिनेदिने जिदान फ्रान्सेली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रमुख प्रशिक्षक बन्ने पक्का भएका छन् । डिडियर डेसक्याम्पले १४ वर्षको प्रमुख प्रशिक्षकको पद छाडेपछि फ्रान्सेली टोलीलाई सम्हाल्न जिदानलाई जिम्मा दिने भएको हो ।

डेसक्याम्पको नेतृत्वमा फ्रान्सले २०१८ को विश्वकप उपाधि जितेको थियो भने २०२२ को विश्वकपमा उपविजेता भएको थियो । भर्खरै सम्पन्न विश्वकपमा भने फ्रान्स चौथो स्थानमा रहेको थियो । फ्रान्स सेमिफाइनलमा च्याम्पियन स्पेनसँग २–० ले हारेको थियो ।
गत हप्ता फेडरेशन फ्रान्सेइस डे फुटबल (एफएफएफ) र जिदानबीच ६ वर्षका लागि सम्झौता भएको थियो । एक हप्तापछि एफएफएफले राष्ट्रिय टोलीका पूर्व कप्तान जिदानलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

५४ वर्षका जिदानले युइएफए नेसन्स लिग २०२७, युरोपियन च्याम्पियनसिप २०२८ र फिफा विश्वकप २०३० सम्म फ्रान्सको टचलाइन सम्हाल्नेछन् । फ्रान्सले सन् १९९८ मा घरेलु भूमिमा विश्वकप र दुई वर्षपछि बेल्जियम र नेदरल्यान्ड्समा भएको युरोपियन च्याम्पियनसिप २००० को उपाधि जित्दाका प्रमुख सदस्य थिए ।जिदानको कप्तानीमा फ्रान्सले जर्मनी २००६ मा विश्वकप फाइनल खेलेको थियो । जतिबेला टोली पेनाल्टी सुटआउटमा इटालीसँग पराजित भएको थियो ।

जिदानले यसअघि दुईपटक स्पेनिस महारथी रियल मेड्रिडको टचलाइन सम्हालिसकेका छन् । सन् २०१६ देखि २०१८ सम्म आफ्नो पहिलो स्पेलमा उनले लगातार तेस्रो संस्करण रियललाई युइएफए च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।
यस्तै जिदानको नेतृत्वमा सन् २०१६–१७ मा रियलले ला लिगा, यूईएफए सुपरकप, स्पेनी सुपर कप र फिफा क्लब वल्र्डकप उपाधि पनि उचालेको थियो । जिदानले त्यसपछि सन् २०१९ देखि २०२१ सम्म रियलको जिम्मेवारी सम्हाले । आफ्नो दोस्रो स्पेलमा उनले टोलीलाई ला लिगा र स्पेनी सुपरकप उपाधि दिलाएका थिए ।

जिदानको खेल करिअर
–सन् १९८९ मा कान्समा आफ्नो खेल करियर सुरु गरे, त्यसपछि १९९६ मा युभेन्टस नआएसम्म बोर्डोका लागि खेलेको ।
–सन् २००१ मा रियल म्याड्रिडमा सामेल हुनुअघि युभेन्टसलाई लगातार सिरी ए उपाधि जित्न सहयोग गरेको । त्यस्तै इटालियन टोलीलाई च्याम्पियन्स लिगको फाइनलमा पुग्न मद्दत गरेको ।

–सन् २००१ मा विश्व रेकर्ड ट्रान्सफर शुल्क ६६ मिलियन पाउन्डमा रियल मेड्रिडमा आबद्ध ।
–फ्रान्सलाई पहिलोपटक विश्वकप उपाधि दिलाएको । फ्रान्समै भएको विश्वकप १९९८ मा उपाधि दिलाउँदा फाइनलमा उनले दुई गोल गरेको ।
–फ्रान्सले ब्राजिललाई ३–० ले हराएर पहिलो पटक विश्वकप जितेपछि त्यसै वर्ष बालोन डी’ओर उपाधि पनि जितेको ।
–सन् २००४ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपनि पछि संन्यास फिर्ता लिँदैं २००६ को विश्वकपमा खेलेको ।
–विश्वकप २००६ को विश्वकप फाइनलमा फ्रान्स इटालीसँग पराजित भएको खेलमा इटालीका मार्को माटेराजीको छातीमा टाउकोले हिर्काएपछि उनी रातो कार्डको भागीदार भएको ।
–एक व्यावसायिक फुटबलरको रूपमा यो नै अन्तिम खेल सावित भएको ।