शीर्ष चारमा पुग्न नेपालले सबै खेल जित्नुपर्छ


काठमाडौं ।

नामिबियासँग ३ रनले हारेपछि अब, नेपालसँग ओडीआई मान्यता बचाउन र विश्वकप छनोटमा सीधै पुग्न ५ खेल बाँकी रहेको छ । आज नेपालले नेदरल्यान्ड्समा जारी सिरिजमा अन्तिम खेल खेल्दैछ । नेदरल्यान्ड्ससँग हुने यो खेल नेपालको लागि जित्नै पर्ने हुन्छ ।
यसअघि नेपालले जारी सिरिजमा तीन खेलमा हार बेहोरिसकेको छ । जसमा, नेपालले नामिबियासँग दुबै खेल हारिसकेको छ भने घरेलु टोली नेदरल्यान्ड्ससँग एक खेल हारिसकेको छ । यो सिरिजपछि नेपालले विश्वकप लिग टू २०२३–२०२७ अन्तर्गत् अन्तिम सिरिज खेल्न बाँकी हुनेछ ।
विश्वकप २०२७ छनोटमा पुग्न र वानडे मान्यता बचाउन नेपालको लागि कूल १० अंक बचेको छ । यो उपलब्धि हासिल गर्न अंकतालिकाको शीर्ष चारमा पर्नु पर्नेछ । तर, नेपाल अहिले ३१ खेलमा २४ अंक जोडेर अंकतालिकाको छैटो स्थानमा रहेको छ । नामिबियाले २६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएपछि नेपाल छैटो स्थानमा झरेको हो ।

यस प्रतियोगितामा अमेरिका (३२ खेलमा ४३ अंक) र स्कटल्यान्ड (३२ खेलमा ३८ अंक) शीर्ष दुई स्थानमा रहने पक्का भएसँगैं विश्वकप छनोटमा पुगिसकेका छन् । साथै यी दुबै टोलीले वानडे मान्यता पनि बचाइसकेका छन् । नेदरल्यान्ड्सले पनि एक खेल जितेमा विश्वकप छनोटमा पुग्ने संभावनामा छ । नेदरल्यान्ड्सको ३० खेलमा ३६ अंक रहेको छ ।

चौथो स्थानमा ओमान ३१ अंक लिएर रहेको छ । ओमानले अझै दुई सिरिज यानि आठ खेल खेल्न बाँकी नै छ । यस्तो अवस्थामा ओमानलाई पछि पारेर चौथो स्थान हासिल गर्न नेपालको संभावना न्यून छ । ओमानले कमसेकम २ खेल मात्रै जितेपनि नेपालको शीर्ष चारको संभावना सकिनेछ ।

शीर्ष चारमा नपरेमा
यदि, नेपालले शीर्ष चार स्थान हासिल गर्न नसकेमा प्लेअफ खेल्ने मौका भने बाँकी रहनेछ । शीर्ष चारमा नपर्ने टोलीहरूले ’विश्वकप छनोट प्लेअफ’ खेल्न पाउने प्रावधान रहेको छ । प्लेअफमा आठ टोली हुने छन् । ’विश्वकप च्यालेन्ज लीग’ का शीर्ष चार टोली र लीग २ बाट झरेका चार टोलीबीच प्रतिस्पर्धा हुने छ । त्यसमा शीर्ष चारमा स्थान बनाउन सक्ने टोलीले पनि ओडीआई मान्यता प्राप्त गर्ने छ भने विश्वकप छनोटमा पनि स्थान बनाउने छन् ।