मकवानपुरगढी पूर्णखोप सुनिश्चित

188
Shares

हेटौंडा । मकवानपुरगढी गाउँपालिका ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना’ घोषणा भएको छ । पालिकाका आठवटै वडा पूर्णखोपयुक्त वडा घोषणा भएपछि पालिकालाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

एक कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासम्बन्धी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै खोप कार्यक्रम संघीय, प्रदेश र स्थानीय सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गरेको छ । प्रत्येक नागरिकले जन्मिएपछि राज्यबाट प्राप्त गर्ने पहिलो सेवा खोप भएकाले यसको प्रभावकारी कार्यान्वयनमा पालिकाले विशेष जोड दिँदै आएको जनाएको छ ।

२०३४ सालदेखि नेपालमा विस्तारित खोप कार्यक्रम सञ्चालन हुँदै आएको र हाल १३ प्रकारका रोगविरुद्ध निःशुल्क खोप सेवा प्रदान गरिँदै आएको जानकारी दिइएको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पूर्णखोप प्राप्त गर्नु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकारका रुपमा सुनिश्चित गरेको सन्दर्भमा पालिकाले नियमितरुपमा खोप सेवा सञ्चालन गरिरहेको जनाएको छ ।

पालिकाका १ देखि ८ नम्बर वडाका १९ वटा खोप केन्द्रमार्फत जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिँदै आएको छ । गत आर्थिक वर्षमा ३ सय ६२ बालबालिकाले नियमित खोप सेवा प्राप्त गरिरहेका छन् । स्वास्थ्य शाखाका अनुसार गत माघ २१ गतेदेखि २५ गतेसम्म गरिएको घरधुरी सर्वेक्षणमा १६ देखि २३ महिनासम्मका २ सय ३३ जना र २४ देखि ५९ महिनासम्मका १ हजार ८५ जना गरी कुल १ हजार ३ सय १८ बालबालिकाले उमेरअनुसार पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको पुष्टि भएको थियो । यही उपलब्धिका आधारमा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । यसअघि जेठ ११ र १२ गते पालिकाका सबै वडालाई पूर्णखोपयुक्त घोषणा गरिएको थियो ।

एक महिनाजति अघि भएको एक कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुन सफल भएकोमा खुशी व्यक्त गर्दै यसको निरन्तरताको कामना गरे । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा पालिकाले उल्लेखनीय प्रगति गरिरहेको बताउँदै यस उपलब्धिमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले वडा हुँदै पालिका घोषणा सम्पन्न भइसकेकाले अब जिल्लालाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।

पालिका अध्यक्ष दोर्जे लामा स्यांतानले सबै पक्षको सहकार्य, समन्वय र प्रतिबद्धताका कारण पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सम्भव भएको बताए । स्वास्थ्य क्षेत्रलाई पालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास बढ्दै गएको र गुनासो न्यून रहेको बताए । स्वास्थ्य शाखा प्रमुख ध्रुव लामिछानेले पालिकाले स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम तथा पूर्णखोप सुनिश्चितता र दिगोपना कायम राख्न गरिएका प्रयासबारे जानकारी गराएका थिए ।

यसै गरी जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले खोप तथा स्वास्थ्य सेवाको क्षेत्रमा मकवानपुरगढीले गरेका प्रयास प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि जिल्ला स्वास्थ्य कार्यालयबाट आवश्यक सहयोग जारी रहने बताए ।
पालिका प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेले स्वास्थ्य क्षेत्रको विकासका लागि पालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा थप विशेष कार्यक्रममार्फत सेवा विस्तार गरिने बताए । कार्यक्रममा वडा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारी, विभिन्न शाखा प्रमुख, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता थियो ।