ख्यातिप्राप्त अभिनेत्री मौसमी मल्ल लामो समयपछि म्युजिक भिडियोमार्फत दर्शकमाझ फर्किएकी छन्। गायिका नीता आचार्यको गीत म हुँ सृष्टिको फक्ताङलुङको भिडियोमा अभिनय गर्दै उनी कलाक्षेत्रमा फर्किएकी हुन्।

चर्चित नृत्य निर्देशक गोविन्द राईको निर्देशनमा निर्माण भएको भिडियोमा मौसमी नेपाली मौलिक भेषभूषामा विभिन्न ऐतिहासिक तथा सांस्कृतिक पात्रका रूपमा प्रस्तुत भएकी छन्। नेपालको इतिहास र सभ्यताको झल्को दिने विभिन्न भूमिकामा उनको प्रस्तुति भिडियोको मुख्य आकर्षण बनेको छ। रमणीय स्थानमा छायाँकन गरिएका दृश्यले भिडियोलाई थप आकर्षक बनाएको छ। नृत्य निर्देशक गोविन्द राई पनि केही समयको अन्तरालपछि निर्देशनमा फर्किएका हुन्। उनले केही समयको अमेरिका बसाइपछि छुट्टी मनाउन नेपाल आएको मौका पारेर यो भिडियो तयार पारेका हुन्।
मौसमीले सामाजिक आफू म हुँ सृष्टिको फक्ताङलुङको भिडियोमार्फत दर्शकमाझ आएको बताएकी छन्।
गीतमा मनु लोहोरुङ राईको शब्द, साज सिंहको संगीत तथा एरेन्ज रहेको छ भने सुरज प्रधानले रेकर्डिङ गरेका छन्। भिडियोका सिनेमाटोग्राफर हिमाल श्रेष्ठ हुन्। सम्पादन सन्देश शाह, कलरिङ राजेन्द्र मोक्तान तथा भिएफएक्स सत्यम रानाले गरेका छन्। डिओपी सौरभ लामा र ड्रोन छायाँकन विशालको रहेको भिडियो नीता आचार्यको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।











प्रतिक्रिया