काठमाडौँँ ।
बागमती नदी संरक्षणको लागि तयार भएको २० वर्षे बागमती सभ्यता कार्ययोजनामा नदी संरक्षण गर्न बस्ती स्थानान्तरणदेखि पैदलपुल निर्माणसम्मको योजना तयार भएको छ । सो कार्ययोजनालाई नदी संरक्षण तथा व्यवस्थापन, सांस्कृतिक सभ्यता पुनस्र्थापना, नदीजल गुणस्तर तथा मात्रा सुधार र क्षमता विकास गरी चार क्षेत्रमा विभाजन गरिएको छ ।
कार्ययोजनाअन्तर्गत पानी पुनर्भरण भूसंरक्षण अभिवृद्धिको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रका बस्ती स्थानान्तरण हुने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सो क्षेत्रमा रहेको घर टहराको लगत सङ्कलन गरी स्थानान्तरण गर्ने जनाएको छ । त्यस्तै धार्मिक यात्राको लागि बागमती नदीसँग जोडिएका नख्खु दोभान, जलविनायक खोँचपुल, सुन्दरीघाट, टेकु, कालोपुल,कोरीटफु खोकना,कोटेश्वर महादेवस्थान र कन्केश्वरी पुललगायत एक दर्जनभन्दा बढी स्थानमा धार्मिक पुल निर्माण गर्ने योजना तयार भएको छ ।
कार्ययोजनामा उल्लेख भएका सबै स्थानमा पैदल पुलको रूपमा झोलुंगे र कतै फलामको पुल निर्माण भैसकेको छ । समितिका अनुसार बाँकी केही स्थानका पैदल पुल निर्माण गर्ने तयारी रहेको छ । नदीको सांस्कृतिक सम्पदा जोगाउन शङ्खमुलघाट, थापाथली, टेकु दोभान, ब्रम्हायणी मन्दिर घाट, घुम्बाराही मन्दिर घाट(मंगल तिर्थ),गुहेश्वरी, पशुपति मन्दिरलगायतका स्थानमा पैदलपुल निर्माण हुनेछन् ।
त्यस्तै अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणको लागि छुट्टै योजना तयार भएको छ । सुन्दरीजलदेखि बागद्वार हुँदै कोटवाल दह पदमार्ग, साँखु बज्रयोगिनी हुँदै मणिचुड, महादेवपोखरी हुँदै नगरकोट र तारकेश्वर महादेव पदमार्ग सञ्चालन हुनेछ । उल्लेख भएका योजनामध्ये केही पूरा भैसकेका छन् भने कुनै योजना अघि बढेको छ । कार्यायोजनामा प्रत्येक नदीमा करिडोर वाकाथन कार्यक्रम सञ्चालन गरिने र नदीलाई आवश्यक क्षेत्रभन्दा बाहिर आवश्यक संरचनासहित स्मार्ट करिडोर सडक सञ्जाल निर्माण हुने उल्लेख छ । त्यस्तै आवश्यक संरचनासहित चोक सुधार र २५ किलोमिटरको सडकलाई स्मार्ट सडक बनाइने पनि कार्ययोजनामा उल्लेख छ ।
कार्ययोजनाअनुसार नदी किनारामा सीसीटीभी जडान गरी नियन्त्रण प्रणाली स्थापना गरिने, एक किलोमिटर अन्तरालमा नदीमा फोहोर जम्मा गर्ने जालजडान गरिने, आकासे पानी सङ्कलन र भण्डारण गरिने, उत्पादनमा आधारित अनुदानमार्फत प्राङ्गारिक खेतीलाई प्रोत्साहन र प्रबद्र्धन गरिने कार्ययोजना रहेको छ ।
क्षमता विकासअन्तर्गत विद्यालय शिक्षामा बागमती सुधारसम्बन्धी पाठ्यक्रम लागु गर्ने, बागमती सभ्यता र यसको सुधारसँग सम्बिन्धत क्षेत्रका विधि क्षेत्रमा अनुसन्धान गर्न स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई अनुदान दिने, बागमती सभ्यतासँग सम्बन्धित प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न स्वदेशी प्रविधिमा विकासमा सहयोग गर्ने कार्ययोजनामा उल्लेख छ ।
यो कार्ययोजनामा उपत्यकाभित्रका काठमाडाँै र ललितपुर गरी दुई महानगरपालिका, १६ नगरपालिका, बागमती र कोञ्ज्योसोम गाउँपालिकाका केही वडाहरू परेका छन् । कार्ययोजनाले बागमती र यसका सहायक नदीहरूको जलाधार क्षेत्रले ओगटेको ७१४.२ वर्ग किलोमिटर क्षेत्रफल समेटेको छ । कार्ययोजनामा काठमाडौँ उपत्यकाको जलाधार पर्यावरण र सहरीवृद्धि परिदृश्यको आधारमा संरक्षण, उप सहरी र सहरीक्षेत्र गरी ती भागमा वर्गीकरण गरिएको छ ।
(५)











प्रतिक्रिया