नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


काठमाडौँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वउपप्रधानमन्त्री तथा पार्टीका पूर्व कार्यवाहक सभापति गोपालमान श्रेष्ठको मंगलवार ८३ वर्षको उमेरमा निधन भएको छ । उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनले एक अथक योद्धा गुमाएको बताएका छन् ।

शोक सन्देशमा स्वर्गीय श्रेष्ठलाई नेपाली लोकतान्त्रिक आन्दोलनका अग्रणी योद्धाका रूपमा स्मरण गरिएको छ । विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय रहनुभएका श्रेष्ठले २०१७ सालपछि निरन्तर लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२–०६३ सालको ऐतिहासिक जनआन्दोलनमा अग्र पंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्नु भएको थियो । साथै लोकतन्त्रको स्थापना, शान्ति प्रक्रियाको सफल कार्यान्वयन तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न उहाँले पु¥याएको योगदान नेपालको राजनीतिक इतिहासमा सदैव स्मरणीय रहने भएको छ ।

पटक–पटक जननिर्वाचित प्रतिनिधि, उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको मन्त्रीका रूपमा कार्यभार सम्हालीसक्नु भएका स्वर्गीय श्रेष्ठले राष्ट्र निर्माण, लोकतन्त्रको सुदृढीकरण र नेपाली कांग्रेसको संगठन विस्तारमा उल्लेखनीय योगदान पु¥याउनुभएको थियो । उहाँको राजनीतिक जीवन सरलता, निष्ठा, त्याग र समर्पणको उदाहरणका रूपमा भावी पुस्ताका लागि प्रेरणादायी रहने नेताहरूले बताएका छन् ।

उनीहरूले श्रेष्ठको निधनसँगै नेपाली राजनीतिले लोकतान्त्रिक आन्दोलनका एक अनुभवी, इमानदार र संघर्षशील नेताको साथ गुमाएको राजनीतिक विश्लेषकहरूले बताएका छन् । उहाँको योगदान र राजनीतिक विरासत नेपाली लोकतान्त्रिक इतिहासमा सधैँ सम्मानका साथ स्मरण गरिने विश्वास व्यक्त गरिएको छ ।