राजमार्गदेखि इनरुवा बजारसम्म कफ्र्यु

छानबिन टोली घटनास्थलमा, विराटनगर बजार बन्द

1.22k
Shares

विराटनगर ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप र त्यसलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक युवाको मृत्यु भएपछि सुनसरीसहित कोशी प्रदेशका विभिन्न स्थानको अवस्था तनावग्रस्त बनेको छ । घटनाको विरोधमा मंगलबार सुनसरी र मोरङका विभिन्न स्थानमा प्रदर्शन, बन्द र विरोध जुलुस भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रदर्शन उग्र बन्दै तोडफोड र आगजनीका घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पकलीदेखि कोशी ब्यारेजसम्मको महेन्द्र राजमार्ग क्षेत्र तथा इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको आदेशअनुसार अर्को सूचना जारी नभएसम्म तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गरिएको छ । यसअघि नै देवानगञ्ज र हरिनगर गाउँपालिकामा निषेधाज्ञा तथा कफ्र्यु जारी छ । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा सुरु भएको विवाद र त्यसबाट उत्पन्न साम्प्रदायिक तनाव अझै साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पुनः अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।

देवानगञ्जमा भएको घटनाको विरोधमा सुनसरी–मोरङका विभिन्न स्थानमा प्रदर्शन भएको छ । मंगलबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गको लौकही–कोसी ब्यारेज खण्डकेन्द्रित भएका प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै यातायात सञ्चालनमा अवरोध गरेका छन् । सप्तकोसी नदीले कटान गरेको क्षेत्रमा केहीबेरदेखि तनाव भएको थियो । कोसी कटान क्षेत्रमा आएको एउटा समूहले स्थानीय पसलहरूमा समेत तोडफोड र आगजनी गरेको छ । त्यहाँ उपेन्द्र मण्डल, अनिल महत्मान, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव, सरजुग यादव र रणकुमार श्रेष्ठलगायतको पसलमा आगजनी तथा तोडफोड भएको बताइएको छ । अहिले त्यो क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पूर्वी तराईका जिल्लाहरूमा लगातार बढ्दै गएको अशान्त परिस्थिति र झडपका घटनाहरूलाई नियन्त्रणमा लिन तथा थप जनधनको क्षति हुन नदिन स्थानीय प्रशासनले कडा कदम चालेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार मंगलबार अपराह्न साढे ३ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कफ्र्यु लगाइएको हो ।

यसअघि कप्तानगञ्जलगायतका क्षेत्रमा भएका हिंसात्मक झडप र साम्प्रदायिक तनावका कारण सुरक्षा व्यवस्था कडा पारिए पनि स्थिति पूर्णरूपमा सामान्य हुन नसकेपछि प्रशासनले पुनः यो निर्णय लिएको हो । जिल्लाको शान्ति सुरक्षालाई सामान्यीकरण गर्न र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ ।

आइतवार राति ठूलो आवाजमा डिजे बजाउने विषयलाई लिएर सुरु भएको विवाद हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको थियो । घटनामा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । घटनामा सर्वसाधारण, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

घटनाको विरोधमा सोमबारदेखि सुनसरी, विराटनगर तथा तराई–मधेशका विभिन्न स्थानमा प्रदर्शन जारी छ । विश्व हिन्दु परिषद् नेपाल मोरङको युवा मोर्चाले देवानगञ्ज गोलीकाण्डको निष्पक्ष छानबिनको माग गर्दै मंगलवार विराटनगर बन्द गराएको छ । बन्दका कारण बजार, उद्योग–व्यवसाय तथा शैक्षिक संस्था प्रभावित भएका छन् ।

विराटनगर महानगरपालिकाले औपचारिक रूपमा बिदा घोषणा नगरे पनि सुरक्षा जोखिम र विद्यालय बस सञ्चालनमा अवरोध हुन सक्ने अवस्थाका कारण अधिकांश विद्यालय तथा कलेज स्वतः बन्द भएका छन् । यस्तै, घटनाको शोकमा देवानगञ्ज र हरिनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । टोली मंगलवार घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । समितिले घाइतेसँग भेटघाट गर्नुका साथै जिल्ला प्रशासन कार्यालय सुनसरीमा सरोकारवालासँग छलफल गरिरहेको छ ।

छानबिन समितिका पदाधिकारीले विराटनगरको न्यूरो अस्पतालमा उपचार गराइरहेका घाइते तथा तिनका परिवारसँग भेटेका छन् । समितिले घटनाको विषयमा विभिन्न पक्षसँग जानकारी लिन सुरु गरेको हो । यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता विराटनगर आउनुभएको छ । उहाँले न्युरो अस्पतालमा उपचार गराइरहेका देवानगञ्ज घटनाका घाइतेहरूलाई भेट्नुभयो । त्यस क्रममा उहाँले घटनाका बारेमा घाइतेसँग जिज्ञासा राख्नुभएको थियो । ‘धेरै चिन्ता नलिनु सबै उपचार खर्च सरकारले नै गर्छ, स्वास्थ्यलाभ गर्नुहोला’ –मेहताले घाइतेसँग भन्नुभयो । मेहताले घाइतेको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासन र चिकित्सकहरूलाई निर्देशन दिनुभयो ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पनि घटनाका घाइते, आफन्त र सम्बद्ध पक्षसँग जानकारी बटुल्न सुरु गरेको छ । आयोगले सुनसरी घटनाको छानबिन गर्ने सोमवार विज्ञप्तिमार्फत जनाएको थियो । घटनापछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी, सुनसरी प्रहरी प्रमुख एसपी तथा सशस्त्र प्रहरीका जिल्ला प्रमुखको जिम्मेवारी परिवर्तन गर्दै गृह मन्त्रालयमा तानेको छ ।

प्रदर्शनकारीले सुरुदेखि नै जिम्मेवार अधिकारीमाथि कारबाहीको माग गर्दै आएका थिए । प्रशासनले अवस्था सामान्य बनाउन समुदायका अगुवा, राजनीतिक दल र सुरक्षा निकायसँग निरन्तर संवाद भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ ।