काठमाडौँ ।
भारतले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई औपचारिक रूपमा भारत भ्रमणको निमन्त्रणा दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतले प्रधानमन्त्री शाहलाई भ्रमणको औपचारिक निमन्त्रणा पठाइसकेको जानकारी दिनु भएको हो । उहाँले भ्रमणको मिति भने दुवै देशबीचको आपसी सुविधाअनुसार तय हुने बताउनुभयो ।
यस घटनालाई नेपाल–भारत सम्बन्धको पछिल्लो कूटनीतिक समीकरण र दक्षिण एसियाली शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । प्रधानमन्त्री नियुक्त भएपछि बालेन्द्र हालसम्म कुनै पनि औपचारिक विदेश भ्रमणमा जानुभएको छैन । त्यसैले भारतको निमन्त्रणालाई उहाँको पहिलो उच्चस्तरीय विदेश भ्रमणको सुरुआतका रूपमा हेरिएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार व्यञ्जनकार केही दिनअघि भारत भ्रमणमा जानु भएको थियो । उच्च स्रोतका अनुसार उहाँले नयाँ दिल्लीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो । ती भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, प्रधानमन्त्रीको सम्भावित भ्रमण, सीमा, सुरक्षा, ऊर्जा, व्यापार तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको बताइएको छ । त्यसलगत्तै भारतीय पक्षबाट औपचारिक निमन्त्रणा सार्वजनिक हुनु संयोग मात्र नभई योजनाबद्ध कूटनीतिक प्रक्रियाको परिणामका रूपमा हेरिएको छ ।
नेपालमा सरकार परिवर्तनसँगै भारतले नयाँ नेतृत्वसँग विश्वासको सम्बन्ध विस्तार गर्न चाहेको विश्लेषण भइरहेको छ । पछिल्ला केही वर्षयता नेपाल–भारत सम्बन्धमा देखिएका उतारचढाव, सीमासम्बन्धी विवाद, राजनीतिक परिवर्तन तथा चीनको बढ्दो सक्रियताबीच भारतले काठमाडौँसँगको सम्बन्धलाई पुनः मजबुत बनाउने रणनीति अघि बढाएको देखिन्छ ।
विशेष गरी नेपालमा पूर्वाधार,ऊर्जा प्रसारण लाइन, जलविद्युत् लगानी, रेल, सडक सञ्जाल तथा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा भारतले आफ्नो उपस्थितिलाई थप विस्तार गर्न खोजिरहेको छ । त्यसैले प्रधानमन्त्री बालेन्द्रको सम्भावित भ्रमणलाई केवल औपचारिक शिष्टाचार नभई रणनीतिक साझेदारीलाई नयाँ गति दिने अवसरका रूपमा पनि हेरिएको छ ।
दक्षिण एसियामा चीन र भारतबीच बढ्दो रणनीतिक प्रतिस्पर्धाका कारण नेपाल दुवै शक्तिको प्राथमिकतामा पर्दै आएको छ । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहकार्य विस्तार गर्न खोजिरहेको बेला भारतले आफ्नो ‘छिमेकी पहिलो’नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन सक्रियता बढाएको छ ।
यही सन्दर्भमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग भएको भेटलाई सुरक्षा, रणनीति र क्षेत्रीय भू–राजनीतिक सन्तुलनसँग जोडेरसमेत हेरिएको छ । भारतले नेपालसँग राजनीतिक विश्वास कायम राख्दै सुरक्षा सहकार्यलाई पनि सुदृढ बनाउन चाहेको विश्लेषण कूटनीतिक वृत्तमा भइरहेको छ ।
नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै भारतीय उच्च नेतृत्वसँग भेटघाट र भ्रमणको परम्परा रहँदै आएको छ । विगतमा प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कार्यभार सम्हालेपछि भारत भ्रमण गर्नुभएको थियो । यद्यपि केही राजनीतिक परिस्थितिका कारण भ्रमणको समय र प्राथमिकतामा फरक पर्दै आएको थियो ।
यसपटक प्रधानमन्त्री बालेन्द्रले पदभार ग्रहण गरेदेखि नै भारत भ्रमणको चर्चा भए पनि औपचारिक निमन्त्रणा नआएकाले विभिन्न अड्कलबाजी भइरहेका थिए । अब भारतीय विदेश मन्त्रालयले नै निमन्त्रणा पठाइसकेको पुष्टि गरेपछि भ्रमणको तयारी औपचारिक चरणमा प्रवेश गरेको मानिएको छ ।
स्रोतहरूका अनुसार भ्रमणका क्रममा जलविद्युत् निर्यात, ऊर्जा व्यापार, सीमा व्यवस्थापन, व्यापार सहजीकरण, पारवहन, रेल तथा सडक पूर्वाधार, कृषि, लगानी, सुरक्षा सहकार्य र क्षेत्रीय सम्पर्क विस्तार मुख्य एजेन्डा बन्न सक्ने सम्भावना रहेको छ । साथै नेपाल–भारतबीच कार्यान्वयनको चरणमा रहेका परियोजनाको प्रगति समीक्षा र नयाँ सहमतिहरूमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।
कूटनीतिक विश्लेषकहरूका अनुसार भारतले नेपालको नयाँ सरकारसँग उच्च राजनीतिक विश्वास निर्माण गर्दै दीर्घकालीन रणनीतिक सहकार्यलाई संस्थागत गर्न खोजेको देखिन्छ । त्यसैले यो भ्रमण केवल औपचारिक निमन्त्रणामा सीमित नरही आगामी नेपाल–भारत सम्बन्धको दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर बन्न सक्ने आँकलन गरिएको छ ।











प्रतिक्रिया