काठमाडौं।
नारायणी अस्पतालको आकस्मिक कक्षमा गत शनिबार भएको तोडफोड तथा ड्युटीमा रहेका चिकित्सकमाथि कुटपिटको घटनापछि उत्पन्न विवाद थप चर्किएको छ। अस्पतालमा कार्यरत ४६ जना चिकित्सकले वर्तमान परिस्थितिमा सुरक्षित रूपमा काम गर्न नसकिने निष्कर्षसहित मंगलबार सामूहिक राजीनामा दिएका छन्। गत शनिबार उपचारका लागि ल्याइएका एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै मेडिकल अफिसर डा. प्रमोद राममाथि मरणासन्न हुने गरी कुटपिट गरेका थिए। घटनामा गम्भीर घाइते भएका डा. रामको उपचार जारी छ।
घटनाको विरोधमा आन्दोलनरत चिकित्सकहरूले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलका क्रममा पनि आफूहरूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। यही घटनापछि आफूहरूको पेशागत सुरक्षा सुनिश्चित नभएको निष्कर्ष निकाल्दै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टलाई सम्बोधन गरी बुझाइएको राजीनामा पत्रमा चिकित्सकहरूको पेशागत सुरक्षा गम्भीर रूपमा संकटमा परेको र यथास्थितिमा सेवा प्रवाह गर्न नसकिने उल्लेख गरिएको छ। सुरक्षित कार्य वातावरणको प्रत्याभूति नहुँदासम्म काममा फर्कन नसकिने उनीहरूको अडान छ।
चिकित्सकहरूको सामूहिक राजीनामाले नारायणी अस्पतालको सेवा प्रवाहमा गम्भीर असर पर्ने देखिएको छ। यसअघि नेपाल चिकित्सक संघले पनि घटनाको विरोधमा देशभर आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा स्थगित गर्ने घोषणा गरिसकेको छ। स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग चिकित्सकहरूको माग छ।











प्रतिक्रिया