चमेलिया नदीमा २८.३ मेगावाटको नयाँ जलविद्युत् आयोजना


काठमाडौं । 

दार्चुलाको चमेलिया नदीमा २८.३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ। दार्चुला पावर कम्पनीले प्रवर्द्धन गरेको नदी प्रवाहमा आधारित यो आयोजना मार्मा गाउँपालिकास्थित अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्नेछ।

आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ भने पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता तथा वित्तीय व्यवस्थापन पनि सम्पन्न भइसकेको छ।

करिब रु ६ अर्ब २३ करोड लागतको आयोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उत्पादित विद्युत् बलाच सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।