काठमाडौं, (नेस) ।
नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक भएको छ।
जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा नेपाली र अंग्रेजी भाषामा लेखिएको सो पुस्तकको आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहबीच प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अन्य अतिथिले उक्त पुस्तकको लोकार्पण गरेका हुन्।
पुस्तक सार्वजनिक गर्दै प्रमुख अतिथि उपेन्द्र यादवले नेपाल विश्वकै जलसम्पन्न मुलुक भए पनि त्यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको उल्लेख गर्नुभयो। जलस्रोतलाई केवल ऊर्जा उत्पादनसँग मात्र सीमित नराखी कृषि, खानेपानी, सिँचाइ, उद्योग, वातावरण संरक्षण तथा समग्र आर्थिक रूपान्तरणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्न उहाँले आग्रह गर्नुभएको छ।
उक्त पुस्तकले नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, नीतिगत चुनौती, जलवायु परिवर्तनको प्रभाव, जल व्यवस्थापन, ऊर्जा, सिँचाइ तथा दिगो विकासका आयामलाई तथ्य र विश्लेषणसहित प्रस्तुत गरेको लेखक यादवले बताउनुभएको छ। पुस्तक तयार पार्नुको उद्देश्य नेपालमा जलस्रोतसम्बन्धी नीतिगत बहसलाई थप तथ्यपरक बनाउनु र नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउनु रहेको उहाँको कथन छ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी अधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।











प्रतिक्रिया