काठमाडौँ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा डिजे बजाउने विषयलाई लिएर भएको विवादपछि मोरङ जिल्लामा पनि डिजेको प्रयोगमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, मोरङले मंगलबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कुनै पनि सार्वजनिक वा निजी कार्यक्रममा डिजे प्रयोग गर्न नपाइने जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा प्रतिबन्ध उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
कप्तानगन्जमा चर्को आवाजमा डिजे बजाएको विषयबाट सुरु भएको विवाद पछि दुई समुदायबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि कप्तानगन्जसहित आसपासका क्षेत्रमा दुई दिनदेखि कर्फ्यू जारी छ।











प्रतिक्रिया