चिकित्सक संघको आन्दोलन : आज आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द


काठमाडौं ।

नेपाल चिकित्सक संघ ले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा त्यसपछिको वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोध गर्दै आज (साउन १२ गते, मंगलबार) देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले आइतबार जारी गरेको विज्ञप्तिमा नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्ताका क्रममा जिल्ला प्रहरी प्रमुखले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप लगाएको छ।

संघले टाउकोमा गम्भीर चोट लागेर घाइते भएका डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने सबै दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

त्यस्तै, चिकित्सकहरूको मानमर्दन गरेको आरोप लगाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि पनि आवश्यक कारबाही गर्न संघले सरकारसँग माग गरेको छ।

राज्य पक्षबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दमन भएको आरोप लगाउँदै संघले विरोधस्वरूप आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

बद्री रिजाल र विश्वराज दवाडी द्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई साथ दिन आग्रह गरिएको छ। साथै आन्दोलनका कारण बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी नेपाल सरकारको हुने संघले जनाएको छ।