विराटनगर ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतवार राति भएको हिंसात्मक झडपपछि सरकारले प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरेको छ । घटनालाई गम्भीर रूपमा लिँदै गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई फिर्ता बोलाएको छ ।
सोमवार बिहान गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझावसहित सात दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।
आइतवार राति दुई समूहबीच भएको झडपले उग्र रूप लिएपछि सोमवार बिहान ७ बजेदेखि देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको थियो । तर, प्रदर्शनकारीले कफ्र्युको अवज्ञा गर्दै विभिन्न स्थानमा तोडफोड र आगजनी सुरु गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली सेना परिचालन गरिएको छ । हतियारसहितको सेनाको टोली पुगेपछि अहिले कप्तानगञ्ज क्षेत्रको अवस्था विस्तारै सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयले सीडीओ घिमिरेको स्थानमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाएको छ । यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक(एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाउँदै सोही विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई उहाँको स्थानमा खटाउने निर्णय गरिएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरिएको छ । साथै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाउँदै उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतवार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर ३० वर्षीय स्थानीय ओमप्रकाश मेहताको निधन भएको थियो। घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए ।
उक्त घटनाको विरोधमा सुनसरीका विभिन्न पालिकादेखि छिमेकी सप्तरी, सिरहा तथा मोरङको विराटनगरमा समेत विरोध प्रर्दशन भएका छन् । सोमवार राजविराजमा पनि प्रदर्शन गरिएको छ । सुनसरीको छिमेकी जिल्ला सप्तरी भएकोले जिल्लामा सुरक्षा सतर्कता सप्तरी प्रशासनले बढाएको छ । प्रदर्शनकारीहरूले राजविराजस्थित नेता चोकमा केहीबेर टायर बालेर विरोध प्रदर्शन गरेका थिए। सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर केहीबेर प्रदर्शन गर्नुका साथै राजमार्ग समेत अवरुद्ध गरिएको थियो । स्थानीय युवा सुरेन्द्र दासको नेतृत्वमा गएको टोलीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारका नाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
यसैबीच सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको छ । सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकमा राजनीतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्ने सहमति जनाएका हुन् ।
यता देवानगञ्जमा भएको घटनाका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ । आयोगले विज्ञप्ति जारी गर्दै आयोगको टोलीले प्रमुख जिल्ला अधिकारी, सुनसरी प्रहरी प्रमुख, अस्पताल प्रशासन र स्थानीयवासीसँग घटनाबारे जानकारी लिइरहेको जनाएको छ।











प्रतिक्रिया