गौँथलीले १० दिनमै कमायो ७ करोडभन्दा बढी

के घर के डेराको व्यापार फितलो


गत साउन १ गते रिलिजमा आएको सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित फिल्म गौँथलीले बक्स अफिसमा बलियो पकड बनाएको छ।

सिनेपाः बक्स अफिस प्रणालीअनुसार आइतवार रातिसम्म १० दिनमा फिल्मले २ लाख ६० हजार २ सय ५४ दर्शक तान्दै ७ करोड ४२ लाख ७३ हजार ५ सय ९१ रुपैया“ ९१ पैसा ग्रस कलेक्सन गरेको छ।

यही अवधिमा प्रदर्शनरत अन्य नेपाली फिल्महरूको तुलनामा गौथली निकै अगाडि देखिएको छ। जेठ २ गतेदेखि प्रदर्शनमा रहेको दीपेन्द्र के. खनालद्वारा निर्देशित के घर के डेराः घर नम्बर २ ले झन्डै डेढ महिनाको अवधिमा ७१ हजार ५ सय ७३ टिकट बिक्री गर्दै १ करोड ७८ लाख ५१ हजार ६ सय ९८ रुपैया“ ग्रस कलेन्स गरेको छ।


यसैगरी असार २६ गतेदेखि प्रदर्शनमा रहेको हिमाल उप्रेतीद्वारा निर्देशित भागदौडले ४ सय ४२ दर्शकबाट जम्माजम्मी १ लाख ९५ हजार ६४ रुपैया“ मात्र कमाइ गरेको विवरण सार्वजनिक भएको छ।

डा. कपिल रिजाल निर्देशित गौँथलीले ग्रामीण परिवेशको सामाजिक यथार्थलाई भावनात्मक ढंगले पर्दामा उतारेको छ। फिल्मले एक युवतीको शिक्षा हासिल गर्ने संघर्ष, विवाहपछिको अप्रत्यासित जीवन, पुरातनवादी सोच, पारिवारिक दबाब र महिलाले महिलालाई नै साथ नदि“दा उत्पन्न हुने जटिलतालाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ। अटिजमबाट प्रभावित युवकसँग विवाह गरेपछि एक नवविवाहित युवतीले भोग्नुपर्ने मानसिक, सामाजिक र पारिवारिक चुनौतीलाई पनि फिल्मले मार्मिक रूपमा चित्रण गरेको छ।

विवाह गर्न नचाहेकी युवतीले परिवारको आग्रह र सामाजिक प्रतिष्ठा जोगाउन गरेको सम्झौताले उसको जीवनमा ल्याएको पीडा फिल्मको अर्को भावनात्मक पक्ष बनेको छ। शारीरिक रूपमा फरक रहेका पात्रहरूको जीवनशैली र उनीहरूले समाजमा भोग्ने व्यवहारले कथालाई थप प्रभावशाली बनाएको छ। फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, बाल कलाकार अंशु ओली, प्रिन्स नेपालीलगायतले अभिनय गरेका छन्।

यता के घर के डेराः घर नम्बर २ ले सहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबीचको सम्बन्ध र आम नागरिकको दैनिकीलाई केन्द्रमा राखेको सामाजिक कथा प्रस्तुत गरेको छ।

भागदौडले भने अपेक्षाअनुसार दर्शक आकर्षित गर्न सकेको छैन। जीवनको निरन्तर भागदौड र त्यसले मानिसको जीवनमा पार्ने प्रभावलाई कथाको आधार बनाइएको फिल्ममा घनश्याम जोशी, विशाल पोखरेल, अनिषा श्रेष्ठ, शारदा राई, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन, सुशास तिमिल्सिनालगायतका कलाकारको अभिनय रहेको छ।

आधिकारिक बक्स अफिस तथ्यांकले गौ“थली अहिले नेपाली बक्स अफिसमा स्पष्ट रूपमा अग्रस्थानमा रहेको देखाएको छ। प्रदर्शनको १० दिनमै ७ करोड ४२ लाख रुपैयाँ भन्दा बढी ग्रस कमाइ गर्दै फिल्मले बलियो व्यावसायिक सफलता हासिल गरेको छ भने अन्य दुई नेपाली फिल्मस“ग यसको कमाइमा ठूलो अन्तर देखिएको छ।