बालेन साह एक अपूर्व सम्मोहन लिएर नेपाल सरकारका प्रधानमन्त्री भएका व्यक्ति हुन् । राजतन्त्र, राणातन्त्र, पञ्चायततन्त्र र बहुदलतन्त्रले नराम्रोसँग सताएका नेपाली जनताका बीच बालेन बादलहरुलाई चिर्दै वायुपङ्खी घोडामा सबार भएर आकाश मार्गबाट प्रकट भए । सबैतिर आशाका किरणहरु जगमगाए । अब नेपाल बन्छ भन्ने सन्देशका साथ प्रकट भएका किरणहरु रोमाञ्चक, मनमोहक त थिए नै, साथमा अपूर्व आशाको जागरण गराउने खालका पनि थिए । आम नेपालीका नजरमा बालेन उद्धारक थिए, पुराना र भ्रष्ट हरेक खलनायकहरुलाई धूलो चटाउन सफल बाहुबलि थिए बालेन ।
ऐतिहासिक रुपमै प्रसन्न र आशावादी थिए नेपालीहरु । पुराना भ्रष्ट खलनायक र उनीहरुका झोले सेनामेनालाई छोडेर सबैले विजयको अनुभूति गरिरहेका थिए । बालेनविरुद्ध पुराना र भ्रष्ट नेताका झोलेहरुले चलाउने हरेक आलोचना र टिप्पणीलाई आम नागरिकले भुइँमा झर्नै दिएनन्, बाटोमै खरानी बनाइदिए । राजा महेन्द्र, नेताहरु बीपी कोइराला र मदन भण्डारी आदिको अवतार मानेका थिए बालेनलाई जनताले । उनको समर्थन र संरक्षणमा राजा महेन्द्रवादी र नेताहरु बीपी–मदनवादीहरु एकजुट भएर लागे । अब देश बन्छ, मुलुक बनाउन विभाजन होइन एकता चाहिन्छ– महेन्द्र, बीपी, मदनका पक्षधरहरु सबै एकीकृत हुनुपर्छ भन्ने सोच जागृत भएको थियो । सबै राजनीतिक दलका चुनावी घोषणापत्रका राम्रा अवधारणा समेटेर बजेट ल्याउने स्वर्णिम वाग्ले र प्राथमिकताका १०० कार्यक्रम बनाउने रवि लामिछाने सबैको मुक्तकण्ठले प्रशंसा पनि भयो ।
पुराना र भ्रष्ट नेता तथा उनीहरुका झोलेहरुले बालेन सरकारको विरोध गरिरहे, यो उनीहरुको पराजयको विलाप थियो, भाग खोसिएको आक्रोश थियो, राज्यकोषमा कुइनासम्म हात डुबाएर खान नपाएको छटपटी थियो भनेर जनताले बुझेका थिए । बालेन र उनको सरकारलाई गाली गर्नेहरु आफैँ आलोचित बनेका थिए । बालेनप्रति स्वतस्फूर्त देशव्यापी समर्थन र सद्भाव ओइरिएको थियो । विदेशमा रहेको नेपाली डायस्पोरा पनि उनकै पक्षमा सुरक्षागार्ड बनेर उभिएको थियो । तर, बालेन सरकार बनेको चार महिना बित्दा–नबित्दै ती सुरक्षा गार्डहरु मोर्चा छोडेर पलायन हुन थालेका छन् । उनको पक्षमा सामाजिक सञ्जालका लागि सशक्त भिडियो बनाउनेहरु हातगोडा गलेको अनुभव गरिरहेका छन् । उनीहरुको पाखुरीबाट जाँगर हराउन थालेको छ ।
आम समर्थकहरु ‘पर्ख र हेर’ को प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् । छिमेकी भारतका सञ्चारमाध्यमहरुले समेत ‘बालेनको पतन शुरु भयो’ भन्दै समाचार बनाउन थालेपछि समर्थकहरुमा निराशा भाव बढ्दै गएको छ ।बालेन र उनको सरकारका लागि गम्भीर समीक्षाको घडी शुरु भएको छ । बालेनले सच्चिने हो भने उनीप्रति जागृत भएको विश्वास पुनः प्राप्त गर्न सक्छन् । तर अब, ‘बेनिफिट अफ डाउट’को सुविधा उनलाई प्राप्त हुनेछैन । सरकारको हनिमुन पिरियड सकिएको छ । केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेर आफू चोखिने अवसर बितेको छ । सरकारको सय दिन गुज्रिएको छ ।
बालेन सरकारको पहिलो असफलता सुकुम्बासी व्यवस्थापनमा देखिएको छ । नक्कली र सक्कली सुकुम्बासीको पहिचान नै नगरी खोलाकिनारका सुकुम्बासी बस्तीमा डोजर चलाउनु गल्ती थियो, त्यहीँ नै सुकुम्बासीलाई लालपुर्जा थमाएर निकाल्नुपथ्र्यो, त्रुटि भयो । तैपनि आम जनताले पुराना दलले नसकेको, साहसिक काम गरेको भनेर प्रशंसा नै गरे । सर्वसाधारण जनताले पुराना राजनीतिक दलहरुको बेइमानीका कारण उकुच पल्टेको समस्या समाधान भयो भन्दै खुशी प्रकट गरे । बालेन सरकारले १५ दिनभित्र सुकुम्बासीको हातमा लालपुर्जा राखिदिने प्रतिबद्धता जनायो, समर्थकहरुले ताली नै पिटे । तर, तीन महिना बित्यो, सुकम्बासीहरुको व्यवस्थापन हुन सकेन । बिस्तारै बालेनका समर्थकहरु घट्दै गए । अझै समर्थकहरुले विरोधी मोर्चाको सदस्यता लिइसकेका छैनन्, सुधार होस् भन्ने चाहना उनीहरुमा देखिन्छ । तर, बालेन र उनको सरकार सच्चिने संकेतहरुको भने अनिकाल नै छ ।
संसद्मा प्रधानमन्त्री बालेनको पहिरन अनौपचारिक भयो भनेर प्रतिपक्षीहरुले गरेका टिप्पणीमा खास दम छैन । मध्यरातमा सामाजिक सञ्जालमा स्टाटस लेखे भन्ने कुरामा पनि खासै तौल देखिन्न । कान्तिपुरलगायतका मिडिया हाउसको ढोकैमा गाडी रोक्न बालेनले नै लगाएका हुन् भन्ने कुराको पनि पुष्टि भएको छैन । यदि बालेन सरकारले बागमतीलगायतका नदीकिनाराबाट हटाइएका नेपालीलाई लालपुर्जा दिएर स्थायी बसोबास गराउन सक्ने हो भने यी सबै झिना–मसिना कुरालाई जनताले बिर्सन्छन् । तर, सुकुम्बासीलाई लालपुर्जा दिन सरकारलाई कसले रोकिरहेको छ, बुझ्न सकिएको छैन ।
सुकुम्बासी समस्या समाधान गर्न नसकेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै असजिलो परिरहेको, प्रधानमन्त्री बालेन साह र अध्यक्ष रवि लामिछानेबीच नै दूरी बढेको बुझ्न सकिन्छ । पछिल्लोपटक लामिछानेको बुढानीलकण्ठस्थित निवासमै गएर बालेनले राज्य सञ्चालन र जनतालाई डेलिभरी दिने कुरामा छलफल गरेका छन् । करिब चार घण्टा चलेको छलफलको केन्द्रमा सुकुम्बासी समस्या रहेको बुझिएको छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापनका विषयमा कुराकानी भएको अध्यक्ष लामिछानेले प्रेसलाई बताएका पनि छन् । छलफलका अन्य विषयमा संघीय सरकार र स्थानीय तहबीचको अधिकारसम्बन्धी विवाद, समसामयिक राजनीतिक परिस्थिति, भविष्यको राजनीतिक सहकार्य वा समन्वयको सम्भावनाका विषयमा पनि दुई युवा नेताबीच छलफल भएको बताइन्छ ।
जे होस्, लामिछाने र साहबीच जुन रुपको समन्वय र सहकार्य आवश्यक थियो, त्यो देखिन्न । यसमा बालेन पक्षको अभिमान मुख्य कारण देखिन्छ । बालेनलाई मेरै लोकप्रियताका कारण रास्वपा दुई तिहाइको बहुमत ल्याउन सफल भयो भन्ने अभिमान छ । तर, त्यो लोकप्रियता चार महिनामै घटिसकेको छ, सामान्य बहुमत भने अझै देखिन्छ । तर दुई तिहाइको बहुमत आजका मितिमा निर्वाचन हुने हो भने सम्भव छैन ।
अप्रत्याशित ‘स्टन्ट’हरु हुने, त्यसको गहिराइमा पुग्न नखोज्ने एक प्रकारको रोग देखिएको छ मुलुकमा ।
जस्तो कि, सञ्चार गृहको गेटमा ६ घण्टाभन्दा बढी शंकास्पद ढंगले पार्क गरिएका गाडीलाई प्रहरीले कुनै अनुसन्धान नै नगरी ट्राफिक जरिवाना मात्र तिराएर छाडेको छ । सत्तारूढ रास्वपासहित प्रतिपक्षी दलहरूले प्रेसलाई त्रसित पार्न खोजेको यस घटनालाई ‘शंकास्पद’ भन्दै छानबिन माग गरेका भए पनि सरकारले विनाअनुसन्धान घटना ‘डिसमिस’ पारेको छ । जसरी, गत भदौ २३ र २४ गतेका विनाशकारी घटनाको गहिराइसम्म पुग्न कोही चाहँदैन, नेपाली सेनालगायतका राज्यका निकायहरु चुपचाप बसिदिन्छन्, त्यसरी नै मिडियाको ढोकामा अवरोध पु¥याउने गरी रोकिएका गाडीहरुका बारेमा पनि राज्य संयन्त्र नै निरीह बन्न पुग्छ ।
मिडिया र सर्वसाधारणलाई आतंकित पारेको र सबै राजनीतिक दलले छानबिन माग गरेको यस्तो घटनामा पनि सरकार अनुसन्धानबाट पन्छिएको छ । न्यूरोडमा असार २८ र सञ्चार गृहहरूमा २९ गते भएको घटना एकै समूहबाट गरिएको हो कि होइन ? पत्ता लगाउने आवश्यकता पनि सरकारले महसुस गरेन । कान्तिपुरको गेटमा राखिएको गाडी रास्वपाकै केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा रहिसकेका रवि जयसवालको भएको खुलेको थियो । यसले सत्ता निकटकै व्यक्तिहरूबाट मिडियालाई आतंकित बनाउन उक्त घटना गराइएको हुनसक्ने बलियो आधार देखिन्छ । मिडिया हाउस र बजारमा अनधिकृत रूपले गाडी राखिएका घटना सार्वजनिक हुँदै जाँदा रास्वपाका निवर्तमान केन्द्रीय सदस्य मधुसूदन ढकालले ‘अव्यस्थित पार्किङले गाह्रो पर्छ भन्ने सांकेतिक जानकारी दिएको हुनसक्ने’ भनेर फेसबुकमा लेखेका थिए ।
प्रहरीले चाहेको भए ट्राफिकसँग पनि समन्वय गरेर यसरी सुनियोजित ढंगले गाडी पार्क गर्ने को हो र कुन प्रयोजनका लागि यस्तो हरकत गरियो भनेर अनुसन्धान अघि बढाउन सक्थ्यो । तर त्यसो गरिएन । राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चार माध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आसयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन हो । तर, सरकारले यसको तौल बुझेन ।
बाहिर प्रकट नभएको एउटा शक्तिले बालेन साह र उनको सरकारलाई नराम्ररी सताइरहेको छ । झट्ट हेर्दा बालेन सरकारलाई सघाएको जस्तो लाग्ने यस शक्तिको हरकत नेपालीका लागि हितकर छैन । यही शक्तिका कारण बालेन र उनका मन्त्रीहरु स्वविवेकले चल्न सकिरहेका छैनन् । सरकारभित्रको स्रोतका अनुसार बालेन र उनका मन्त्रीले कतै बोल्नु छ भने त्यही अज्ञात शक्तिले स्वयंसेवी बनेर भाषण तयार पारिदिन्छ । अगाडि के गर्ने, संसद् बैठकमा एकछिन् पस्ने कि कतै बसेर चिया खाने, त्यही शक्तिले निर्देश गर्छ । सल्लाहकारको रुपमा काम गर्ने त्यो टोली कोबाट सञ्चालित छ, भन्न सकिन्न । कुनै भूमिगत गिरोह छायासरि बालेनको वरिपरि चौबीसै घण्टा घुमिरहन्छ । यसले कुन दिन कस्तो ‘स्टन्ट’ गराउँछ, भन्न सकिन्न । मिडियाका गेटमा आवागमन नै हुन नदिने गरी गाडी राख्ने काम होस् वा गणेश नेपालीलाई उक्साएर आत्मदाह गराउने काम होस्, अथवा उनको उपचारमा रातभर गृहमन्त्रीलगायतका सरकारका सदस्यलाई परिचालन गराउने काम होस्, त्यही भूमिगत गिरोहले गराइरहेको छ । यही नै नेपाल र नेपालीका लागि सर्वाधिक खतराको विषय बन्न पुगेको छ ।
एक विषयमा केन्द्रित जनताको ध्यान अर्कातिर लगाउने काममा यो भूमिगत गिरोह निकै अनुभवी छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रमबारे बोलिरहँदा प्रधानमन्त्री बालेनलाई जुरुक्क उठाएर हिँड्न लगाउने यही गिरोह हो । बालेनको पहिरन, डीडीसीको चिज सेवन, स्थायी प्रशासनलाई कमजोर बनाउने गरी समानान्तर सल्लाहकार समूहको गठन, अख्तियार दुरुपयोग निवारण आयोगका पदाधिकारीहरुको नियन्त्रण आदि सबै काम यही गिरोहको निर्देशनबमोजिम हुने गरेको छ । अलोकप्रिय केपी ओलीविरुद्ध ‘स्वच्छ छवि’ का बालेनलाई उठाएर जिताउने काममा पनि यही भूमिगत गिरोह सक्रिय थियो ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भिन्न सन्दर्भमा भन्ने गरेको भूमिगत गिरोह बालेन युगमा भने साँच्चिकै सक्रिय भएर आएको छ । रवि र बालेनको बलियो र इमानदारीपूर्ण एकताले मात्र यस गिरोहबाट मुक्ति सम्भव छ । मुलुकलाई बचाउने हो भने यस गिरोहबाट मुक्त हुनै पर्छ । अन्यथा रास्वपाको दुई तिहाइ बहुमत र बालेनको लोकप्रियता कसैले केही गर्न सक्तैन ।











प्रतिक्रिया