दुर्गेश–प्रियंकाको नयाँ गीतले तान्यो विवाद, द्विअर्थी शब्दमाथि प्रश्न ( भिडियोसहित )


काठमाडौं ।

गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको विषयवस्तुलाई लिएर व्यापक बहस सुरु भएको छ। विशेषगरी गीतमा प्रयोग भएका केही शब्द र अभिव्यक्तिलाई लिएर श्रोता तथा दर्शकबीच फरक–फरक धारणा देखिएका छन्।

प्रियंका कार्कीले निर्माण गरेको आगामी फिल्मको प्रचारका लागि तयार पारिएको गीतका शब्द र संगीत दुर्गेश थापाकै हाे। सार्वजनिक भएपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले गीतमा द्विअर्थी शब्दावली प्रयोग भएको भन्दै आलोचना गरेका छन्। कतिपयले यस्ता शब्दले समाजमा गलत सन्देश दिन सक्ने तर्क गरेका छन् भने केहीले शिक्षण पेशासँग जोडिएको ‘मास्टर्नी’ शीर्षकलाई यस्तो शैलीमा प्रस्तुत गर्नु उपयुक्त नभएको टिप्पणी गरेका छन्।

गीत सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा पनि यसबारे दुर्गेश थापासँग प्रश्न गरिएको थियो। उनले गीत कसरी बुझ्ने भन्ने कुरा श्रोताको दृष्टिकोणमा निर्भर रहने प्रतिक्रिया दिएका थिए। साथै, गीतमा ‘म्याथ’ शब्द प्रयोग गर्नु आफ्नो सिर्जनात्मक रोजाइ भएको र ‘गणित’ भन्दा त्यो शब्द बढी उपयुक्त लागेको बताएका थिए।

युट्युबमा गीतमुनि आएका हजारौं प्रतिक्रियामध्ये धेरैले गीतका शब्दप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा पनि गीतको भाषा, सन्देश र प्रस्तुतिलाई लिएर चर्चा भइरहेको छ।

सञ्चारकर्मी तथा फिल्म निर्देशक प्रकाश सायमीले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले कलाकारको अभिव्यक्ति स्वतन्त्रता र त्यसप्रति समाजको प्रतिक्रियाबारे टिप्पणी गर्दै गीतको प्रस्तुतिलाई लिएर प्रश्न उठाएका छन्।

‘मास्टर्नी’ वास्तवमा प्रियंका कार्कीले निर्माण गरेको आगामी फिल्मको प्रचारका लागि तयार पारिएको प्रमोसनल गीत हो। यो गीत फिल्मभित्र समावेश गरिएको छैन। निर्माण पक्षका अनुसार, फिल्मको प्रचारप्रसारलाई सहयोग गर्ने उद्देश्यले दुर्गेश थापाले यो गीत तयार पारेका हुन्।

फिल्मको प्रचार अभियानमा दुर्गेश थापाले पनि सक्रिय सहभागिता जनाउने तयारी गरेका छन्। यसअघि ‘दुश्मन हेरेको हेर्‍यै’ गीतमार्फत सहकार्य गरेका दुर्गेश र प्रियंकाको यो दोस्रो सांगीतिक सहकार्य हो।