काठमाडौं ।
मध्यपूर्वमा अमेरिका–इरान तनाव थप चर्किँदै जाँदा संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार होर्मुज जलडमरूमध्यमा आफ्ना दुई तेल ट्याङ्करमाथि इरानले “निर्लज्ज ooआक्रमण” गरेको आरोप लगाएको छ। यूएईका अनुसार उक्त आक्रमणमा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। यूएई रक्षा मन्त्रालयले दुवै ट्याङ्कर ओमानको समुद्री क्षेत्रमा यात्रा गरिरहेका बेला इरानी क्रुज मिसाइलले प्रहार गरेको जनाएको छ।
आक्रमणपछि जहाजमा आगलागी भए पनि आगो नियन्त्रणमा लिइएको र थप क्षति हुन नदिइएको बताइएको छ। यूएईले घटनालाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भन्दै आवश्यक परे आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न उचित कदम चाल्ने चेतावनी दिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा नयाँ नाकाबन्दी लागू गरिने र उक्त समुद्री मार्ग प्रयोग गर्ने अन्तर्राष्ट्रिय कार्गोमाथि २० प्रतिशत शुल्क लगाइने घोषणा गरेका छन्।
ट्रम्पले यो शुल्क अमेरिकी सुरक्षा तथा नौसैनिक परिचालनको खर्च व्यवस्थापनका लागि भएको बताएका छन्। विश्वको करिब एक चौथाइ समुद्री तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्यमा बढ्दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पुनः अस्थिरता देखिएको छ। तेलको मूल्य बढ्न थालेको छ भने विश्वव्यापी ढुवानी र व्यापारमा समेत असर पर्ने चिन्ता बढेको छ।











प्रतिक्रिया