दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी एक महिलाको जंगली च्याउ खाँदा बिरामी परेपछि उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा ३७ वर्षीया दीपा पुन रहेकी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दीपाको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असार ३२ गते स्थानीय जंगलबाट ल्याइएको जंगली च्याउ पकाएर खाएपछि एकै परिवारका पाँच जना बिरामी परेका थिए। दीपालाई सुरुमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरिएको थियो।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै शुक्रबार साँझ घोराहीस्थित सञ्जीवनी अस्पतालमा रेफर गरिएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि शनिबार उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो। तर नेपालगञ्ज पुर्याउनुअघि नै बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जंगली च्याउ खाँदा बिरामी परेका अन्य चार जना ७५ वर्षीया दीलमाया पुन, १४ वर्षीय सुमन बुढाथोकी, ११ वर्षीय विपिन पुन र ७ वर्षीय विवेक पुनको उपचारपछि स्वास्थ्यमा सुधार आएपछि घर फर्किएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया