बलिउड सुपरस्टार सलमान खानको नयाँ लुक सामाजिक सञ्जालमा भाइरल भएपछि उनका प्रशंसकहरूले स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन्।
हालै मुम्बईमा आयोजित एक कार्यक्रममा सहभागी भएका सलमान खानको भिडियो सार्वजनिक भएपछि उनी पहिलाको तुलनामा निकै दुब्लाएका र थकित देखिएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको हो।
भाइरल भिडियोमा सलमानले हल्का ओलिभ हरियो रङको सर्ट र क्याप लगाएका छन्। कार्यक्रममा हिँडिरहेका उनको अनुहार पहिलेभन्दा फरक देखिएको भन्दै धेरै प्रयोगकर्ताले उनको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका छन्।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। एक प्रयोगकर्ताले, “पहिला त यो सलमान खान नै होइन कि जस्तो लाग्यो, पछि उनको अंगरक्षक शेरा देखेपछि मात्र पक्का भयो। उनी अहिले धर्मेन्द्रजस्तै उमेर देखिन थालेका छन्,” भन्दै टिप्पणी गरेका छन्।अर्का एक प्रयोगकर्ताले, “सलमान खानलाई के भएको हो? उनको अनुहार निकै परिवर्तन भएको छ। उनी हिँड्नसमेत असहज देखिन्छन्,” भनेर चिन्ता व्यक्त गरेका छन्।
सलमान खान लामो समयदेखि आफ्नो फिटनेस र शारीरिक बनावटका लागि परिचित अभिनेता हुन्। त्यसैले उनको पछिल्लो रूपले धेरै प्रशंसकलाई अचम्ममा पारेको छ। यद्यपि, सलमान खान वा उनको टोलीले स्वास्थ्यसम्बन्धी कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
सलमान खान यतिबेला आफ्नो आगामी फिल्म ‘मातृभूमि’ को तयारीमा व्यस्त छन्।











प्रतिक्रिया