काठमाडौं।
विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको प्रमुख प्राथमिकता बन्न थालेको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै जीडब्लुएमले आफ्नै ब्याट्री प्रविधिमार्फत विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्ने प्रयास गरेको जनाएको छ।
धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि जीडब्लुएम विश्वका ती सीमित अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ। यसले ब्याट्रीको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि कम्पनीलाई प्रत्यक्ष नियन्त्रण कायम गर्न सहयोग पुगेको जनाएको छ।
नेपालमा हालै सार्वजनिक गरिएको जीडब्लुएम ओरा–५ विद्युतीय एसयूभीमा प्रयोग गरिएको ड्रागन आर्मर ब्याट्री पनि जीडब्लुएमअन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी एसभोल्ट इनर्जीले विकास तथा उत्पादन गरेको हो।
वर्षौंको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले उच्च सुरक्षा, आगो तथा पानी प्रतिरोधी क्षमता, लामो दूरीसम्मको यात्रा क्षमता, छिटो चार्ज हुने सुविधा तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्रविधिमा समेटेको कम्पनीले जनाएको छ।
‘ड्रागन आर्मर’ नाम यसको विशेष आन्तरिक संरचनाका कारण राखिएको हो। ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन्। यसले विशेष प्रकारको तलतर्फ हावा निकास हुने प्रणाली निर्माण गर्छ।
कम्पनीका अनुसार कुनै असामान्य अवस्थामा अत्यधिक ताप वा आगो उत्पन्न भए पनि उक्त प्रणालीले त्यसलाई यात्रु बस्ने भागतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्न सहयोग गर्छ। यही संरचनाका कारण यो ब्याट्रीले यात्रुको सुरक्षाका लागि थप सुरक्षा कवचको भूमिका निर्वाह गर्ने बताइएको छ।
जीडब्लुएमका अनुसार ड्रागन आर्मर ब्याट्रीले विद्युतीय सवारीसाधनको सुरक्षा प्रविधिमा नयाँ आयाम थप्दै उपभोक्तालाई अझ सुरक्षित र भरपर्दो यात्रा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।











प्रतिक्रिया